बोदे बर्साईन : सप्तरीको बोदे बरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासले मधेसी दलित आरक्षण कोटामा पुर्ण छात्रवृतिमा एमबीबीएस पढ्न नाम निकाल्न सफल भएका छन्।

उनको नाम निकालेदेखि चर्चाको विषय बनेको छ। विपन्न परिवार, मजदूरी गरेर गुजारा गरिरहेका उनको नाम एमबिबीएस पढ्न आएदेखि उनको घरमा सहयोग गर्नेहरु पनि पुगिरहेका छन्।

श्री महेन्द्र चुन्नी माध्यमिक विद्यालय मानराजाबाट एसइई परीक्षा उत्तीर्ण गरेका उनले लिटिल स्टार उच्च मावि लहानबाट विज्ञान विषय लिएर कक्षा ११–१२ उत्तीर्ण गरे। त्यसपछि एमबीबीएस प्रवेश परीक्षा तयारी कक्षाका लागि काठमाडौं पुगेका थिए।

नेम कोचिङ सेन्टरमा उनले नाम पनि लेखाए तर केहि महिनामा पैसा अभावका कारण उनी काठमाडौं नै छाडेर घर फर्केका थिए। पढाइ खर्च जुटाउन बिजुली मिस्त्रीको काम गर्दा पनि आफ्नो जीवनयापन र पढाई पूरा गर्न अप्ठयारो भएको थियो। दासले मजदुरी गर्दै पढाइ अघि बढाए।

गाउँघरमै बिजुली मिस्त्रीको मदजुरी काम गरे। दिनभर मजदुरी गर्थे र रातभर पढाइ। मजदुरीबाट भएको कमाइबाट घर खर्च कटाएर बचेको रकमबाट एमबीबीएस प्रवेश परीक्षा तयारीका लागि किताब किन्थे। त्यसैबाट जोगाएको रकमबाट काठमाडौं पुगेर उनले एमबीबीएस प्रवेशिका परीक्षा चार पटक प्रवेश परीक्षा दिएका थिए।

आफुलाई जसरी पनि एमबीबीएस पढेर डाक्टर बन्ने सपना रहेको दासको भनाई छ।

नेपालमा पहिलो मधेस आन्दोलनपछि अन्तरिम संविधान २०६३ मा आरक्षणको प्रावधान ल्यायो। त्यसअनुरूप महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि भन्दै ६ वटा क्लस्टर छुट्याएर आरक्षण लागू गरिएको थियो।

नेपालको संविधान २०७२ को धारा १८ समानताको हक अन्तर्गत राज्यले जात, वर्ण, लिङ्ग, धर्म आदिको आधारमा भेदभाव गर्न पाउँदैन उल्लेख गरेका छन्। तर, दलित, महिला, आदिवासी/जनजाति, मधेसी, पिछडिएको वर्ग जस्ता पछाडि पारिएका समुदायका लागि सकारात्मक विभेद (आरक्षण) गर्न सक्ने व्यवस्था छ।

त्यही आरक्षणको व्यवस्थाले सीमान्तका लागि अवसरको ढोका खोलिदिएको छ। जसका कारण दास जस्ता कैयन् सीमान्तकृत समुदायका अब्बल विद्यार्थीले डाक्टर बन्ने सपना पूरा गर्न सकिरहेका छन्। उनीहरूलाई पछ्याउँदै थुप्रै सीमान्तकृत युवा युवती राज्यमा पहुँचका लागि हौसिएका छन्।

पहिलो मधेस आन्दोलन २०६३–६४ को बलमा नेपालको संविधान २०७२ मा आरक्षण व्यवस्था राखिँदा गरिब दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर मिलेको हो। यो संविधानको उज्यालो पक्ष हो।

चौतर्फी सहयोग

दास अपाङ्ग समेत रहेका छन। डाक्टर पढ्न नाम निकालेपछि दासलाई मधेसी एकता समाज नेपाल , सप्तरीका संचालक तथा जसपा नेता डा बबि सिंह यादवका तर्फबाट नगद रु २५००० हजार सहयोग गराएका थिए ।

नेता सिंहले अझ पनि हाम्रो संस्थाबाट अध्ययन नसकेपछि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। पुनः नेता यादवले भने म घरमै पुगेर आफूले आर्थिक सहयोग र जुटाउन मद्दत गर्ने प्रतिबद्धता जनाएका छन्। अभियानीहरुले दासको क्यूआरमार्फत थप सहयोग जुटाइरहेको छ।