मधेशटप,फागुन ५

सप्तरी ; सप्तरीको सप्तकोसी नगरपालिका कार्यालयमा स्थानीय चार राजनीतिक दलले तालाबन्दी गरेका छ्न।नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले संयुक्त रुपमा आज बिहिवार नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएको पत्रकार खगेन्द्र कार्कीले बताएका हुन।

सो राजनीतिक दलहरूले नगरपालिकामा महालेखा परिक्षणमा बेरुजुको रहेकाले आन्तरिक लेखापरीक्षणको विवरण उपलब्ध गराउनुपर्ने माग राखेका छन।

यसैगरी कार्यपालिका र नगरसभाबाट पारित गरेका निर्णयहरुको विवरण उपलब्ध गराउनुपर्ने,राष्ट्रिय माध्यमिक बिद्यालय फत्तेपुर को भवन निर्माणको मापदण्ड अनुसारको ठेक्का प्रक्रिया पारदर्शी गर्नुपर्ने,अङ्ग्रेजी माध्यम कक्षा संचालन खर्च ब्याबस्थापनको विवरण उपलब्ध गराउनु पर्ने र आर्थिक वर्ष २०७८ र ०७९ मा नगरभित्रका ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने र कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनु पर्ने सहित ६ बुँदे माग राखेका छ्न।

सो राजनीतिक दलहरूले गत माघ २४ गते ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र विवरण उपलब्ध गराउनुपर्ने अल्टिमेटम दिएको थियो ।

ज्ञापनपत्र बुझाएको ११ दिन बितिसक्दा पनि माग सम्बोधन नभएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक युवराज खनालको भनाइ रहेको छ।नगरपालिकाले संघर्ष समिति बोलाएर वार्ताको माध्यमले ताला खुलाउने नगर अध्यक्ष उत्तम गौतमले बताएका छ्न।