मधेशटप,फागुन,६ 

धनुषा–३ काँग्रेसका हस्ती स्वर्गीय महेन्द्रनारायण निधिदेखि उनका छोरा विमलेन्द्र निधिको गढको रुपमा रहदै आएको छ । निधिको गृहनगर क्षेत्र रहेतापनि २०७४ सालको संसदीय चुनावमा भने तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल राजपा का नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई हराएका थिये ।

महतोले ३०७५० मत पाएका थिए भने निधिले २७८४७ मत ल्याइ टक्कर दिएका थिए । हाल लोसपाका वरिष्ठ नेता महतो सो क्षेत्रको स्थानीय निर्वाचनमा आफ्नो पकड कायमै राख्न चाहन्छन् तर उता निधि मधेसी दलको टुटफुटको फाइदा उठाउँदै काँग्रेस जनप्रतिनिधि जिताउन उद्यत छन् ।

उनी कार्यकर्ता भेटघाटमा सक्रिय छन् । यही क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अहिले धनुषा–३ लाई विशेष मध्यनजर गर्दै काँग्रेसको गढ तोड्न सक्रियतापूर्वक पार्टी प्रवेशलाई निरन्तरता दिएका छन् ।

जसपा अध्यक्ष यादवले मुखियापट्टी मुसरहनीया गाउँपालिका तथा धनौजी गाउँपालिकामा निकै तामझामका साथ ठूलो संख्यामा काँग्रेस र एमालेबाट नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याए र सो क्षेत्रमा हुने विभिन्न धार्मिक कार्यक्रमहरुमा पनि उनी सहभागी हुन थालेका छन् ।

लोसपाका वरिष्ठ नेता महतो आफ्नो निर्वाचन क्षेत्रलाई सुरक्षित राख्न घरदैलो गर्नेदेखि जनगुनासो सुन्ने कार्यक्रमलाई अघि बढाएका छन् ।

उनले कार्यकतो भेट्ने बहानामा मोर्निङ वाकलाई समेत प्राथमिकता दिन थालेका छन् । धनुषा–३ बाटै पुनः प्रतिनिधिसभामा उम्मेदवारी दोहोर्याउने भएपछि उनले स्थानीय तहको निर्वाचनमा समेत सक्रियता बढाएको लोसपा धनुषाका जिल्ला सदस्य रोहित चौधरीले बताएका छन ।