मधेशटप डेस्क, फागुन १८गते ।

धनुषा ;  चार वर्षमै धनुषामा १२ अधिकृत फेरिए का छन । प्रमुख प्रशासकीय अधिकृत फेर्ने नगर प्रमुखको प्रवृत्तिले धनुषाको हंसपुर नगरपालिकामा साढे ४ वर्षमा १२ जना प्रशासकीय अधिकृत हेरफेर भएका छन् ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भएपछि निर्वाचनमा असर पर्ने गरी जनप्रतिनिधि कर्मचारी सरुवा र योजना बाँडफाँटमा केन्द्रित भएको आरोप लागेको छ । डर त्रास र धम्की देखाएर छोटो अवधिमै अधिकृत धपाउने नगर प्रमुखको गतिविधिलाई संघीय मन्त्रालयले समेत रोक्न सकेको छैन,र यस कारण प्रशासकीय अधिकृत पटकपटक फेरिँदै आएका हुन् ।

हंसपुरमा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रशासकीय अधिकृत एक महिनामै फिर्ता हुने गरेका छन् । नगर प्रमुख रामज्ञान मण्डलले मन्त्रालयले तोकेको प्रशासकीय अधिकृतलाई हाजिरीसमेत हुन नदिने र काम गर्न नदिएर फिर्ता पठाउने गरेका छन् ।

उनले आफूअनुकूलका कर्मचारीलाई निमित बनाएर पालिका चलाउँदै आएका छन् ।

साढे चार वर्षमा रामकिशोर महतो, धर्मराज जोशी, रामजुत यादव, यमेन्द्र उपाध्याय, शालिकान्त झा, जयनारायण खनाल, हरिशंकर यादव, कन्हैया मिश्र, उमेश यादव, रामलोचन मण्डल, केशव अधिकारी र रामभजन यादव गरी १२ जना प्रशासकीय अधिकृत हंसपुरमा आए–गए र नगर प्रमुख मण्डलकै कारण पालिकामा मन्त्रालयबाट आएका कर्मचारी टिक्न नसकेको अन्य जनप्रतिनिधिहरू बताका छन ।

 

नगर प्रमुख मण्डलले अहिले प्रशासकीय अधिकृत केशव अधिकारीलाई हटाएर जिल्ला समन्वय समितिबाट लक्ष्मिनिया गाउँपालिकामा समायोजन भएका अधिकृत रामभजन यादवलाई फागुन १० मा सरुवा गराएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यादवलाई हंसपुरमा समायोजन गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

यसअघि मन्त्रालयले सरुवा गरेका अधिकारीलाई नगर प्रमुख मण्डलले हाजिरी हुन दिएका थिएनन् ।

उच्च अदालतको आदेशमा हाजिरी भएका अधिकारीलाई मण्डलले अवरोध गर्दै आएका र कर्मचारी खटनपटन र कार्यालय सञ्चालन व्यवस्थित बनाएका अधिकारीलाई कार्यकक्षमै दुर्व्यवहार गरिएको थियो ।

 

लामो समयसम्म कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका नगर प्रमुख मण्डल तारेखमा छन् ।

मण्डलले कर्मचारीलाई हटाउने, ल्याउने, असहयोग गर्ने र धाकधम्की दिने काम आफूबाट नभएको बताएका छन।तर, हंसपुरकी उपप्रमुख रेणु झाले प्रशासकीय अधिकृतलाई मण्डलले ज्यान मार्ने धम्की दिने गरेको बताइन् ।

‘कर्मचारीले काम गर्न खोजेपछि मेयरले नै चलखेल गरी धपाउने गरेका छन्,’ उपप्रमुख झाले नगरपालिकामा हाकिम ल्याउन, धपाउन मेयर र वडाध्यक्षले लाखौं खर्च गरेका छन् ।

आफैंले ल्याएको कर्मचारीले राम्रो काम गर्दा पनि लाखौं खर्चेर सरुवा गराए । कार्यकालको अन्तिम समयमा अर्का कर्मचारी ल्याएका छन् ।’

४ महिनामै ३ अधिकृत फेरिएका छन । महोत्तरीको सम्सी गाउँपालिकामा पछिल्लो चार महिनामा तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्

। गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएयता ११ जना प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका कर्मचारी गाउँपालिकामा आएर सम्पूर्ण जानकारी लिई काम गर्न थालेपछि राजनीतिक दबाबमा सरुवा हुन बाध्य छन् ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्न पटकपटक आग्रह गर्दा पनि मन्त्रालयले कर्मचारीको सरुवा गरेको पालिका अध्यक्ष शेष फारुकले बताए ।

उनले मन्त्रालयलाई विपक्षी बनाएर ०७८ पुस ५ मा सर्वोच्च अदालतमा रिट हालेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पुस ७ मा मन्त्रालयको सरुवा बदर गरेको थियो ।

अन्तरिम आदेशअनुसार मन्त्रालयले पुस २९ मा सम्सीमा प्रशासकीय अधिकृत पदमा गणेशचन्द्र मिश्रलाई पठाएको थियो । मिश्र आएको एक महिना नबित्दै राजनीतिक दलका प्रतिनिधि उनको सरुवाका लागि मन्त्रालयमा पुग्न थालेका छन् ।

मिश्रको अन्यत्र सरुवा भए असहज परिस्थिति हुन सक्ने भन्दै आन्दोलन गर्ने कार्यपालिका बैठकले निर्णय गरेको पालिका अध्यक्ष फारुकले जानकारी दिएका छन ।