काठमाडौँ : संघीय संसद्को चालू अधिवेशनसम्म दुवै सदनमा गरी आमचासोका रुपमा रहेका कुल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् ।तीमध्ये संघीय संसद्को तेस्रो अधिवेशनदेखिकै विधेयक पनि अड्किएर रहेका हुन् ।
प्रतिनिधिसभामा ४७ र राष्ट्रियसभामा १६ विधेयक विचाराधीन रहेका छन् । यस अधिवेशनमा दुवै सदनबाट विनियोजन विधेयक, २०७९ सहित बजेटसँग सम्बन्धित र अन्य गरी छ वटा विधेयक पारित र तीमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुई विधेयक प्रमाणीकरण भएको छ भने लोकसेवा आयोग विधेयक, २०७५ प्रमाणीकरणको प्रक्रियामा रहेको छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा ११औँ र राष्ट्रियसभाको १२औँ अधिवेशन गत जेठ ३ गतेदेखि चलिरहेको छ । दुईपटकसम्म संसद् विघटन, सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापना र पुनःस्थापनापछि पनि सत्तापक्ष र प्रतिपक्षको बेमेल र पटकपटक सदनमा अवरोध र बहिष्कारको स्थितिका कारण नेपालको संविधानबमोजिम बन्नुपर्ने संघीय ऐन तर्जुमामा ढिलाइ भएको हो ।
विभिन्न मन्त्रालय र विषयसँग सम्बन्धित नयाँ संघीय ऐन नबन्दा संविधानका अनुसूची र अधिकार प्रत्यायोजनाको व्याख्या र अधिकारको कार्यान्वयनमा अन्योल उत्पन्न भएको छ । कानुनी अन्योलले संघ, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय हुन सकेको छैन ।
Discussion about this post