वीरगञ्ज – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई पार्टीमै फर्कन आह्वान गरेका छन् ।
वीरगञ्जमा जारी जसपाको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गुटगत समूहको भेला गर्दै हिँडेका डा.भट्टराईलाई भुलचुक सुधार्दै आफ्नै पार्टीमा फर्कन आह्वान गरेका हुन् ।
पार्टी विधि, विधान र अनुशासनले चल्ने भन्दै उनले पार्टी ध्वस्त पार्न खोज्ने, एकतालाई खलल गर्न खोज्ने जो कोही भए पनि कारबाही गरिने स्पष्ट पारे ।
पार्टीको कार्यकारिणी समितिबाट निर्णय गरेर वीरगञ्जमा केन्द्रीय समितिको बैठक बसेको भन्दै उनले जो कसैले बोलाउँदैमा केन्द्रीय समितिको बैठक आधिकारी नहुने बताए ।
कार्यकर्तालाई भ्रमित पार्ने काम भइरहेको भन्दै उनले कोही पनि भ्रममा नपर्न पनि आग्रह गरे ।
भुलचुकले कतिपय साथिहरु डा.भट्टराईले भ्रमपूर्ण तरिकाले बोलाएको भेलामा गएको भन्दै ती साथिहरु फर्कन चाहे पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको बताए । उनले भने, “केही साथीहरु भुलचुकमा अलमलमा परेका छन्, कतिपयलाई भ्रममा पारिएको छ, अब भ्रममा नरहनुस, तपाईहरु फर्कनुस् हामी स्वागत गर्न तयार छौँ ।”
डा.भट्टराई अहिले लोसपासँग एकता गराइदेउ भन्दै शक्ति केन्द्र धाउँदै हिँडेको आरोप पनि उनले लगाए ।
पार्टी फुटाउन सहज बनाइदिन बालुवाटार धाउने गरेको भन्दै उनले कहिले ४० प्रतिशतमा पार्टी फुटाउने कानुन ल्याउनु पर्यो भन्ने त कहिले २० प्रतिशत बनाइदिनु पर्यो भन्दै धाइरहेको पनि खुलासा गरे ।
नश्लवादी चिन्तनका कारण नाजी शासक हिटलरको पतन भएको उल्लेख गर्दै उनले डा.भट्टराई पनि त्यही बाटोमा लागेको जिकिर गरे ।
जसले राष्टिय, जातिय, वर्गीय, क्षेत्रीय, लैगिक उत्पिडनका कुरा उठाउँछ उनलाई क्षेत्रीय दल भनेर सोच्नु घोर नश्लवादी भएको भन्दै यस्तो रवैयाले उसको पतनको बाटो तय गर्ने उनको भनाइ थियो ।
डा.भट्टराईमा पार्टीको व्यानर प्रयोग गरेर गुटगत भेला गर्दै हिँड्नुले उनमा न्यूनतम राजनीतिक संस्कार र संस्कृति समेत नभएको देखाएको यादवको ठहर थियो ।
Discussion about this post