काठमाडौं।   निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयलाई आज (बिहीबार)सम्म कागजात उपलब्ध गराउन निर्देशन दिएको छ। आज दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो।

यस सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरू समितिलाई उपलब्ध गराउन हिजो बुधबार बिहान अर्थ मन्त्रालयलाई पत्राचार गरिएको हो।
बुधबार दिउँसो अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी समेत लिएको छ।

त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरूसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। समितिका सदस्यहरूलाई अर्थ मन्त्रालयका प्राविधिकहरूले त्यसबारे आवश्यक जानकारी गराएको पनि बताए।

निवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरू सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन्। त्यही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो।

समितिमा एमालेबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा छन्। त्यसै गरी नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा (माओवादी केन्द्र) बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत छन्। नेकपा (एकीकृत समाजवादी) की सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण छन्।

एक हप्ताअघि अर्थात् गएको असार २२ गते बुधवार गठन गरिएको यो समितिको सभापति समेत अझै चयन गरिएको छैन।