जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी धनुषा जिल्लामा चुनावी अभियानलाई तीब्रता दिएको छ ।

सो क्रममा जसपा धनुषाले बिहीबार एकै दिन धनुषा निर्वाचन क्षेत्र नं. ३ र ४ मा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष युगलकिशोर यादवको अध्यक्षता एवं जसपा संसदीय समिति सदस्य वालकिशोर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले चुनावी अभियानलाई तीब्र बनाउन क्षेत्रीय कमिटीहरुलाई पुनर्गठन गरेको छ ।

क्षेत्र नं. ३ स्तरीय क्षेत्रीय कमिटीको अध्यक्षमा युगल किशोर यादव पुनः चयन भएका छन् भने प्रदेश सभा स्तरीय क्षेत्र नं. ३को (क)मा जयकुमार यादव र (ख)मा सुमित शेखर साह संयोजकको जिम्मेवारी पाएका छन । समितिको अन्य पदाधिकारी एवं सदस्य चयनको जिम्मा संयोजकहरुलाई नै दिइएको छ ।

भेलामा नगर तथा गापा अध्यक्षहरुले आ-आफनो स्थानीय तहमा पार्टीको अवस्थाबारे ब्रिफिङ्ग गर्दै आगामी रणनितीबारे आ-आफनो धारणा राखेका थिए । चुनावी अवस्थाबारे गहन छलफल गरेको भेलाले भदौ मसान्त भित्र सबै कमिटीहरुको गठन पुनरगठन गर्ने निणर्य गरेको छ ।

भेलामा राजनीतिक समिति सदस्य लालकिशोर साह, उर्मिला महतो, केन्द्रीय सदस्य बेचन मुखिया, प्रदेश सचिव जितेन्द्र यादव सहित प्रदेश समितिका सदस्य, जिल्ला अध्यक्ष पशुपति यादवसहित जिल्ला समितिका पदाधिकारी एवम् जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेव साह लगायत क्षेत्र नं. ३का चारवटै पालिकाका अध्यक्ष एवं सबै वडाका वडा अध्यक्षहरु सहित क्षेत्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैगरि क्षेत्र नं. ४ को अगुवा भेला समेत बिहीबारनै सम्पन्न भएको छ । उक्त भेलाले क्षेत्रीय अध्यक्षमा राजेश्वर यादव, प्रदेशसभा (क)मा प्रबोध यादव र (ख)मा राजेश्वर महतोलाई जिम्मेवारी दिइएको छ ।