जनकपुरधाम । विजया दशमीअन्तर्गत आज छैठौं दिन भइसक्दा पनि त्यति रौनक छैन् । पहिलेपहिले जस्तो सबै मिलेर रोटे पिङ हाल्ने, पिङ खेल्ने, रमाइलो गर्ने विस्तारै हराउदैं गएको छ । घटस्थापना को दिनदेखि नै पहिले निकै रमझम हुन्थ्यो । दशैं आउनुभन्दा महिना दिन अघिदेखि नै गाँउटोलमा चहलपहल शुरु भइसकेको हुन्थ्यो । मठमन्दिर, सार्वजनिक स्थलको सरसफाईलगायतका कार्य टोलबासी आफैंले गर्थे ।
तर, विस्तारै हाम्रो परम्परा, संस्कृति मासिदैं गएको छ । लिपपोत गरेर सिंगार्नुपर्ने घर हराइ सकेको छ । सबैतिर ढलान गरेका घर छन् । रातो माटो भनेर अहिलेका बालबच्चाले चिन्दैनन् । यता, रोटे पिङ त बालबालिकालाई कथनजस्तै हुन्छ । सामूहिकता, एकता भनेको अहिलेका बालबालिकालाई थाहा छैन् । मठमन्दिर, सार्वजनिक स्थल सरसफाइलगायतका कार्य गर्ने प्रचलन पनि हराउदैं गएको छ ।
गाउँमा बसोबास गर्नेहरु रोजगारी नपाएर विदेश गए । गाउँमा पिङ हाल्ने कोही छैनन् । उपत्यकामा भएका जग्गा सबै घर बनाएर सिद्धिसकेको छ । पिङ हाल्ने ठाँउ छैन् । पिङ हाल्नलाई बाँस चाहिन्छ तर काठमाडौंमा त बाँस नै देखिन छाडिसकेको छ । यता, ठाँउ पनि फराकिलो चाहियो । घरघरको बीच पिङ हाल्ने कुरा भएन् । पहिलेका बुढापाकाले भन्छन्,‘दशैंमा जसरी पनि पिङ खेल्नु, एकछिन भएपनि भुँइ छोड्नु ।’
तर, अहिलेका केटीकेटीहरु होस् या ठूलाबडा उनीहरुलाई यस विषयमा चासो छैन् । ठूलाबडाहरु पिङ हाल्न आफू पनि जागरुक हुदैंन्, अरुलाई पनि सल्लाह दिदैंनन् । पछिल्लो समय मोबाइल चलाउने प्रवृत्ति ह्वात्तै बढेको छ । दिनभरि फेसबुक चलाउने, टिकटक बनाउने र घोप्टो परेर युट्युब हेरेर बस्ने । जसका कारण चाडपर्वमा हामी नेपालीको जुन मौलिकता थियो त्यो हरायो ।
हिन्दु धर्मावलम्वीहरुको महान् चाड दशैं हो । तर, दशैं मनाउने नाममा धनी र गरिबबिच नै भेदभाव भएको छ । पैसा हुनेहरु होहल्ला गर्छन्, समाजमा नकारात्मकता फैलाउने काम गर्छन् । चाड सबैको हो तर आफूसंग पैसा भएको धाक दिन्छन् । गरिबको थिचोमिचो गर्न खोज्छन् यी सामन्ती वर्ग । उनीहरु मज्जाले दशैं मान्छन् तर तिनका घरमा काम गर्नेले छुट्टी पाँउदैनन् । आखिरी चाड त सबैको हो नि ?
पैसा हुनेले पैसा खर्च गरेर मनाउँछ, नहुनेले जस्तो छ त्यसैगरी मनाउँछ । तर, गरिबको त चाड नै होइन् जस्तो गर्न पाइदैन् । दशैं भन्नेबित्तिकै व्यापारीको कमाउधन्दा मौलाएको छ । तोकेकोभन्दा दोब्बर मूल्यमा सामान बेच्छन् । कालोबजारी, बजार अभाव र चर्को मूल्यवृद्धिले जनताको ढाड सेक्ने गरेको छ । दशैं लागेपछि घरघरमा खसी काटिन्छ । मादक पदार्थ सेवन गरेर रमाइलो गर्ने प्रचलन नेपाली समाजमा छ ।
बिहानदेखि तास खेलेर बस्नेहरु पनि छन् । तास खेल्ने, मादक पदार्थ सेवन गर्ने होहल्ला मच्चाउने यस्ता कार्यले समाजमा व्यापकता पाएको छ । तर, यसरी समय खेर फाल्नुको साटो सदुपयोग गर्यो भने समाजको मुहार फेरिन्छ । वर्षदिनमा आउने चाडका मनाउनका लागि विदेशबाट आउनेको ओइरो लाग्छ । यता, रोजगारी, शिक्षा र विभिन्न कामले उपत्यका बसेकाहरु पनि आफ्नो गाउँघर फर्किन्छन् ।
गाउँघरमै सबै जना भेला भएको बेला एकछिन समय निकालेर छलफल गरौं । गाउँ सुधारका लागि समयको सदुपयोग गरौं भनेर कसैले पनि सोच्दैनन् । कतै धारा छैन् होला कतै स्कुल । कतै अस्पताल त कतै मठमन्दिर । भएका पनि कतिपय त रेखदेख नहुँदा जीणर् भएर बसेका होलान् । यी भौतिक संरचनाहरु एउटालाई मात्र होइन् सबैलाई चाहिन्छ । जसरी थोपाथोपा मिलेर समुन्द्र बन्छ त्यसैगरी सबैले अलिअलि आफ्नो समय दिने हो भने मर्मत गर्न धेरै बेर लाग्दैन् ।
दिनभर रक्सीमा धुत भएर बस्नुभन्दा त सामाजिक काममा अलिकति भएपनि हात बढाऔं । धारा, पानी, अस्पताल, सार्वजनिक स्थल एउटालाई मात्र होइन सबैलाई खाँचो पर्दछ । मादक पदार्थ सेवन गर्ने पैसा दान गरेर मर्मत गर्नतिर जुटौं । आफ्नो काम आफैले गरेपछि भोलि कसैको मुख ताकेर बस्नुपर्दैन् । यता, पैसा नहुनेले श्रमदान गरौं । सबैले आफ्नो ठाँउबाट अलिअलि कोसिश गरिदिदाँ सबैलाई फाइदा हुन्छ ।
दशैं हो भनेर अमूल्य समय त्यत्तिकै खेर नफालौं । अहिले जसको हातमा पनि स्मार्टफोन छ । तर, त्यसको सदुपयोग गर्ने कि दुरुपयोग त्यो बोक्नेकै हातमा भर पर्छ । सरकारको आँखा नपरेको दुःख, जटिलता हाम्रो गाउँघरमा छ । गाउँघरमा यति धेरै समस्या छ कि सरकारले हेरेर पनि देखेको छैन् । सरकारले नदेखेको कुराहरु हामीले देखाइदिनुपर्छ । यही समाजमा बस्ने भएपछि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।
पैसा दिएर सहयोग गर्न नसक्नु आफ्नो ठाँउमा छ । तर, स्रोतसाधनको सदुपयोग गरेर पीडितको दुःख कम गर्न सकिन्छ । हामी मज्जाले दशैं मनाइरहेका हुन्छौ तर पल्लो घरमा खान नपाएर भोकभोकै बसेका होलान् । कतिपय उपचार नपाएर थलिएका होलान् । बाबुआमा गुमाएर टुहुरा भएका बालबालिकाको भिडियो बनाएर बाहिर ल्याउने सीप हामीसंग छ ।
घरघरमा सरकार पुगेर साध्य लाग्दैन्, सञ्चारकर्मी पुग्न सक्दैनन् । तर, छिनको लागि हामी सञ्चारकर्मी बनिदिन सक्छौं । हामीसंग भएको स्रोतसाधनको सदुपयोग गर्ने हो भने कसैले नयाँ जिन्दगी पाँउछन् । वर्षौदेखि ओछ्यानमा थलिएका आफ्नो खुट्टामा उभिने बन्छन् । सबै कुरा पैसाले नै हुन्छ भन्ने छैन् थोरै मानवता पनि देखाउनुपर्छ । हामीले पैसा दिएर छिनको लागि उसको भोक त टर्ला तर उसले नयाँ जीवन पाँउदैन् ।
आधा पेट आफू खाएर आधा पेट उसको पनि भरियोस् भन्ने सिद्धान्त बोकेर हिँड्नुपर्छ । आधा पेट खाएपछि दुवै बाँच्छन् । त्यस्तै, झैझगडा, मारपिटमा आफू हारेर अरुलाई जिताऔं । दुवै भिड्न गयो भने ठूलो दुर्घटना निम्तिन बेर लाग्दैन् । नेपाल सरकार पनि अचम्मको छ । जुवातास खेल्नुहुदैन् भन्छ तर विदेशबाट तास आयात गर्न अनुमति दिन्छ । मदिरा सेवन गर्नुहुन्न भन्छ तर बेचबिखनमा रोक लाग्दैन् ।
जुवातास खेल्ने बानीले गर्दा कतिपयको घरखेत सिद्धिएको घटनाहरु पनि हामी कहाँ छ । मदिरा सेवनकै कारण एकदमै अपराधिक घटनाहरु घट्ने गर्छ । पिङ खेल्ने क्रममा पनि निकै सर्तकता अप्नाऔं । जाँडरक्सी खाएर पिङ खेल्दा ज्यानै जान सक्छ पहिले नै सोचविचार गरौं । दशैं चाड पनि हो, दशा पनि हो । त्यसैले ठूलो नोक्सानी हुनुअगावै सचेत भएर जिम्मेवारी नागरिक बनौं ।
चाडबाड हो भन्दैमा फजुल खर्च गर्ने प्रवृत्ति छोडौं । देखासिकी गरेर पैसा खोलाजस्तो मनाऔं । अहिले बचायौं भने भोलि काम लाग्न सक्छ । आफ्नो घरमा जे पाक्छ त्यही खाऔं । अरु घोडा चढे भनेर धुरी चढ्न थाल्यो भने लड्न सक्छौं । त्यसैले बेलैमा ध्यान पुर्याऔं । आफ्नो आम्दानी र हैसियता हेरेर मात्र खर्च गर्ने बानी बसालौं । चाडबाड हो भनेर अनावश्यक खर्च गर्नुहुदैन् ।
चाडबाड मान्न भनेर मिटरब्याजमा ऋण लिन्छन् । घरखेत राखेर ऋण लिन्छन् भोलि त्यही ऋण ठूलो बोझ नबनोस् । क्षणिकको रमाइलोका लागि भएको जति आफ्नो श्री सम्पत्ति नउडाऔं । एकछिन त मिठोमसिनो खाउँला, नयाँ लुगा लगाउला तर यसले निम्त्याउने क्षति ठूलो छ । आफ्नो टाउकोमाथिको छत हट्न पनि बेर लाग्दैन् । पहिलेपहिले ब्याज नभएपनि ऋण दिने चलन थियो ।
चाडबाड मनाउन एकदुई हजार रुपैयाँ ऋण पाइन्थ्यो । तर, अहिले त सय रुपैयाँको पनि ब्याज माग्छन् । पहिले एउटाको घरमा खसी काट्यो भने छिमेकीलाई पनि बाँड्थे । नहुनेलाइ सकेको बेलामा तिर भन्दै चार भागमा एक भाग मासु दिने चलन थियो । तर, अहिले त एउटाको घरमा मासु पाक्छ, संगै जोडिएको घरमा गुन्द्रुक । धनी र गरिबबिचको भिन्नता झनै बढेको छ ।
गाउँघरमा धनी मरे भने मलामी धेरै हुन्छन्, गरिब मरे भने कोही पनि हुदैंनन् । यसले हाम्रो समाज कतातिर गइरहेको प्रष्ट पारेको छ । आफै खाऔं, आफैं लगाऔं अनि आफैं मोटाऔं भन्ने धारणा नेपालीहरुको छ । सबै जना व्यक्तिगत स्वार्थमै भुलिएका छन् । तर, परिवार र समाजप्रति कोही पनि जिम्मेवार छैनन् । आफुले मनाउँदा अरुले पनि मनाउनुपर्छ भनेर सोचौं, चाडबाड मनाउने नाममा विकृति नफैलाऔं ।
Discussion about this post