जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश कमिटीका सदस्य डा.सञ्जीव यादव पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दशक लामो समयदेखि एमालेमा रहेर कम्युनिस्टको राजनीति गरेका उनले आफूसंगै दुई दर्जन एमालेका नेताकार्यकर्तालाई कांग्रेसमा प्रवेश गराए । धनुषाको लक्ष्मिनियाँमा नेपाली कांग्रेसद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमबाट उनी कांग्रेस प्रवेश गरेका छन् ।

एमाले पार्टीका नेता डा.यादवले नेकपा एमाले पार्टीमा कार्यकर्ताको मुल्यांकन नहुने देखेपछि पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको बताएका छन् ।
उनले केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र मधेश प्रदेशमा पार्टी सचिव रघुवीर महासेठले हुकुमी शासन चलाउन थालेकाले पनि पार्टी परित्याग गरेको सुनाए ।

अध्यक्ष ओली र सचिव महासेठको मनमौजी कार्यशैलीबाट आजित भएका पार्टीका अरु नेताकार्यकर्ता एमाले छोड्न लागेको भने । घरदैलौ कार्यक्रमको अवसरमा ति नेताकार्यकर्ता कांग्रेस प्रवेश गर्ने डा. यादवले भने ।

नेपाल विभिन्न भूगोल मिलेर बनेको देश हो । म मधेशको भूगोलबाट एमालेको राजनीति गर्दै आएको थिएँ । यहाँ मधेशी समुदायको बास्लो उपस्थिति छ र मधेशी समुदायका करिब आठ लाख युवासँग नागरिकता छैन् । ति युवाहरुसँग नागरिकता नहुनु केपी ओली दोषी देखिन्छ, उनले बताए ।

पार्टीको नेतृत्व गर्दै सार्वजनिक तहमा पुगेर देश र जनताको सेवा गर्ने चाहना बोकेका डा. सञ्जीव आसन्न निर्वाचनमा एमालेबाट धनुषा-४ (क) का लागि प्रदेशसभा सदस्य टिकटको मुख्य दाबेदार थिए ।

तर, अध्यक्ष ओली र सचिव महासेठले अर्कैलाई टिकट दिएपछि नेतृत्व वर्गदेखि रुष्ट बनेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्न थालेपछि धनुषा प्रतिनिधिसभा निर्वाचन ४ मात्र नभर समग्रमा मधेश प्रदेशमै एमाले कमजोर पर्ने आंकलन गरिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट धनुषा-४ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र एमालेको तर्फबाट एमालेका सचिव रघुवीर महासेठ उम्मेदवार छन् ।

प्रतिस्पर्धामा अन्य दल तथा स्वतन्त्रका उम्मेदवार भएपनि मुख्यत् यही दुईबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस्तोमा एमालेका प्रभावशाली नेता कांग्रेसमा प्रवेश गर्नु एमालेका उम्मेदवार क्षति र कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ ।