सप्तरी : राजविराज ।सप्तरी दुईको ‘क’ मा त्रिपक्षीय भीडन्त देखिएको छ । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, निवर्तमान गाउँपालिका अध्यक्ष सतीश सिंह र लोसपाका युवा नेता सरोज मंडलबीच त्रिपक्षीय भीडन्त देखिएको हो । मन्त्री शैलेन्द्र जसपा–एमाले गठबन्धन, सतीश जनमत पार्टी तथा सरोज सत्तारुढ गठबन्धनका साझा उम्मेदवार छन् । यो क्षेत्रबाट नेमकिपाका विनादेवी यादव, नेपाली कांग्रेस (विपी)का रामनारायण राय, हाम्रो नेपाल पार्टीका कन्हैया कुमार ठाकुर, जनता प्रगतिशील पार्टीका सत्य नारायण मुखिया, राप्रपा नेपालका कालीचरण राय, राप्रपाका जयनारायण मंडल पनि चुनावी मैदानमा छन् ।
यस्तै स्वतन्त्र तर्फ चन्द्रकला सिंह, पुनिता कुमारी ठाकुर, कामेश्वर मंडल, रजत सिंह, रुपेश मंडल, गिरिधर मंडल र धीरेन्द्र कुमार साह पनि चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धामा मन्त्री साह, सिंह र मंडलबीच नै हुने मतदाताको आकलन छ । ४९ हजार ९ सय १८ मतदाता रहेको यो क्षेत्रमा तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिकाको तथा महदेवा गाउँपालिकाको ४ वटा वडा पर्दछ । स्थानीय तहको निर्वाचनमा तिलाठी कोइलाडी गाउँपालिकामा कांग्रेस र छिन्नमस्ता तथा महदेवा गाउँपालिकाको प्रमुख पद लोसपाको पोल्टामा गएको थियो । यो क्षेत्रमा पर्ने ३ पालिका मध्ये कुनै पनि पालिकाको प्रमुखमा जसपाले खाता खोल्न सकेको छैन् । स्थानीय तहको परिणामका आधारमा सत्तारुढ गठबन्धन दलको कुल मत २१ हजार ५ देखिएको छ ।
जसपा–एमाले गठबन्धनको पक्षमा भने ७ हजार ४ सय ३६ मत देखिएको छ । यस मतभारको आधारमा सत्तारुढ गठबन्धनका उम्मेदवार सरोज प्रतिस्पर्धी उम्मेवार जसपा–एमाले गठबन्धनका शैलेन्द्र भन्दा झण्डै १४ हजार मतले अगाडि तथा सुविधामा देखिन्छन । प्रदेशसभाको निर्वाचनमा स्थानीय तहको प्राप्त मत फेरबदल हुन नदिन मंडल कम्मर कसेर लागेका छन् । २०७४ सालको चुनावमा संघीय समाजवादी फोरम पार्टीबाट उम्मेदवार रहेका शैलेन्द्रलाई तत्कालीन राजपा हालको लोसपाको साथ र सहयोग थियो । त्यति बेला उनको निकटतम प्रतिद्वन्दी रहेका माओवादी केन्द्रका सरोज मंडल पार्टी परिवर्तन गर्दै अहिले लोसपाबाट फेरि उम्मेदवारी दिएपछि शैलेन्द्रका लागि चुनौती बनेका छन् । शैलेन्द्रलाई यसपल्ट तत्कालीन राजपा र हालका लोसपाको पनि साथ छुटेको छ । त्यसैबाट उत्साहित देखिएका सरोज भन्छन्–‘हाम्रो गठबन्धनका नेता÷कार्यकर्ता एक ढिक्का छन, कसैले भत्काउन सक्दैन ।’ २०७४ को स्थानीयतहको निर्वाचनमा राजपाबाट तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष पद जितेका हाल जनमत पार्टी प्रवेश गरी उम्मेदवार बनेका सतीशको पनि यस क्षेत्रमा बलियो पकड रहेको धेरै को आंकलन छ । यसै क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको साथ र बढ्दो ‘ क्रेज’को लाभ पनि सतीशले पाउने धेरैले अनुमान व्यक्त गरेका छन् ।
पहिलो पल्ट प्रदेशसभा सदस्यका लागि निर्वाचनमा उम्मेदवार बनेका सतीश दुबै गठबन्धनको समेत मत तानेर चुनाव जित्ने दाउमा छन् । उनी भन्छन्–‘सबैको भरोसा लिएर जित्ने छु ।’ मधेश प्रदेश क्रिकेट संघका सदस्यसहित विभिन्न आधा दर्जन सामाजिक संघ÷संस्थामा आबद्धसमेत रहेका सिंह मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यसको लाभ पनि आफूले पाउने उनको विश्वास छ । उनको उम्मेदवारीले पनि मन्त्री शैलेन्द्रलाई चुनौती थपिएको अनुमान गरिदै छ । जसपा–एमाले गठबन्धनका उम्मेदवार मन्त्री शैलन्द्र पनि मधेश आन्दोलनका क्रममा अग्रमोर्चामा थिए । तर अहिले नागरिकता विधेयक प्रमाणीकरणमा एमाले र राष्ट्रपतिको भूमिका तथा मधेश आन्दोलनका बेलामा मधेश विरोधी अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी ओली विरुद्ध आक्रोश कायमै रहेको बेला सोही पार्टी सित यसपटक जसपाले गठबन्धन गरेकोप्रति नकारात्मक टिप्पणीसमेत उठने गरेको छ । जसकारण यस निर्वाचनमा मन्त्री साहलाई अप्ठयारो पार्ने कतिपयको आंकलनसमेत छ । यद्यपि मन्त्री साह एमालेसँग गर्नु परेको गठबन्धन बारे कार्यकर्ता र मतदातालाई विभिन्नतर्क दिई सम्झाउँदै सन्तुष्ट पार्ने भरमग्दुर प्रयास गरिरहेका छन् । एमालेसँगको गठबन्धनलाई ‘तालमेल’ मात्र भएको बताउँदै आएका उनी पछिल्लो ५ वर्षमा आफूले गरेको विकासले मतदाताको मन र निर्वाचन दुवै जित्ने दाबी गर्दे आएका छन् । चुनावी घरदैलोका क्रममा सबै उम्मेदवारले विकास निर्माण र मधेशको मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् ।
Discussion about this post