पर्सा : जिल्लाको पश्चिमी सीमावर्ती निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रतिनिधिसभामा सत्ताधारी र प्रतिपक्षी गठबन्धनको तर्फबाट मात्र उम्मेदवारी परेकोले पनि चुनावी ध्रुवीकरण सोझो बन्दै गएको छ ।
सत्ताधारी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मधेश प्रदेश इन्चार्ज रमेश रिजालले उम्मेदवारी दिएका छन् । उनको प्रतिपक्षमा जनता समाजवादी पार्टी( जसपा) एमालेको गठबन्धनबाट जालिम मिया चुनावी मैदानमा ओर्लेका छन । प्रतिनिधिसभाका दुबै प्रतिस्पर्धी उम्मेदवार एउटै गाउँपालिका जगरनाथपुरका निवासी छन । पटक पटक सांसद बनेका रमेश रिजाल र पहिलो पटक संसदीय चुनाव लडेका मियाँबीचको प्रतिष्पर्धा रोचक हुने विश्लेषकहरुको कथन छ । क्षेत्रमा दलगत, सिद्धान्त, विकास भन्दा पनि उम्मेदवारको चरित्र र भ्रष्ट्राचार नै प्रमुख मुद्दा बनेको छ । सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार रिजाल पटक–पटक सांसद भए पनि अधिकांश जिल्लाको सदरमुकाम वीरगञ्ज र राजधानीमा रहने गरेकाले उनीप्रति जनआक्रोश देखिएको छ । रिजालको विरुद्ध विपक्षी मियाँले सो विषयलाई मुद्दा बनाएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका जालिम मिया पंचायतीकाल देखि बाहुबलीको रुपमा परिचित छन् । उनी बनफडानी गरेको र २०४६ सालको पहिलो जनआन्दोलन पछि जेल सजाय भोगेका हुन् । तर पंचायती व्यवस्था देखि नै स्थानीय तहमा उनको पकड बलियो रहेको छ । कोरोना महामारीको पहिलो चरणमा जालिम मियाँले संक्रमितहरुलाई भारतमा प्रवेश गराएको लगायतका कयौं विवादमा मुछिएका छन् ।तर उनको जनाधारमा त्यसले खासै फरक परेको देखिदैन् ।
पर्सा जिल्लाबाट रिजाललाई निर्वाचित गराउन मियाँको भूमिका महत्वपूर्ण रहने गरेको बताइन्छ ।बहुदलपछि कांग्रेसमा प्रवेश गरेका मियाँ रिजालकै सहयोगीका रुपमा रहेका थिए । तर पछि उनको कार्यशैलीबाट असन्तुष्ट बनेका मियाँले विरोध गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका थिए । हाल एमालेबाट प्रतिनिधिसभामा चुनाव लडेका मियाँ २०७४ सालको स्थानीय तहमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष बनेका थिए । मियाँ जगरनाथपुर गाउपालिकाका अध्यक्ष रहेको बेला आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको १४ वटा उजुरीलाई पनि चुनावको मुद्दा बनाइएको स्थानीय सहरुप राउतले बताए । हालै सम्पन्न स्थानीय तहको चुनावमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नीलाई उपाध्यक्षमा पराजित गराउन मियाँको महत्वपूर्ण भूमिका रहेको थियो । तर अहिले जसपासितको गठबन्धनको कारण मियाँलाई राउतले सघाउनु परिरहेको छ । हुनत राउतले आफ् नो गृह क्षेत्र छाडेर पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेशमा चुनाव लडेका छन् । पर्सा क्षेत्र नम्बर ४ को (क) बाट एमालेको तर्फबाट जयप्रकाश थारु प्रदेश सभामा उम्मेदवारी दिएका छन । सत्ताधारी गठबन्धनबाट थारुको विरुद्धमा प्रदेशसभा सदस्य शंकर चौधरीले उम्मेदवारी दिएका छन ।तर एक महिना अघि टिकट पाउनैका लागि जसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका वीरेन्द्र यादव बागी उम्मेदवार बनेका छन् ।
प्रदेशसभा सदस्यमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नम्बर ४ को (ख) बाट सत्ताधारी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शेख चांद ताराले उम्मेदवारी दिएकी छन । उनको प्रतिपक्षमा जसपाको तर्फबाट प्रदेशसभा सदस्य सिंगासन साह कलवार उम्मेदवार छन् ।दुवै बीच सोझो प्रतिस्पर्धा हुने भएकाले स्थिति अन्योलग्रस्त छ । हालै सम्पन्न भएको स्थानीय चुनावमा दोश्रो पटक छिपहरमाई गाउपालिकाको अध्यक्षमा एमालेको तर्फबाट विजयी भएका मनोज गुप्ताको बाजे प्रह्रलाद साह बागी उम्मेदवार बनेका छन् । दुबैतर्फ देखिएको दुई बागी उम्मेदवारका भूमिकाले पनि प्रतिनिधिसभाका प्रतिपस्र्धीहरुलाई ठूलै धक्का लाग्ने स्थानीय मतदाताहरुको कथन छ ।
Discussion about this post