जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार अम्भु प्रसाद साहले अरुले जस्तो झुठो बोल्ने र आश्वासन मात्र बाँड्ने आफ्नो बानी नभएको बताएका छन् ।

चुनावी भेटघाटको क्रममा जनकपुरधाममा व्यापारीहरुबीच चुनावी घरदैलो कार्यक्रममा बुधबार जनतामाझ भेटिएका साहले यस्तो बताएका छन् ।


उम्मेदवार साहले आफू झुठो आश्वासन बाँड्न नभइ जनताको समस्या बुझ्न आएको बताए । चुनावको बेला मात्र उम्मेदवारहरु मतदाता सम्झने गरेको स्थानीयबासीको गुनासोको जबाफ दिदै साहले भने अरुको जस्तो झुठो बोल्ने बानी मेरो छैन, झुठो आश्वासन पनि दिन आएको होईन । आफू जनताको सुखदुःखमा सँगै रहने प्रतिबद्धता व्यक्त गर्दै साहले स्थानीय समस्या र आवश्यकताको प्राथमिकीकरणको आधारमा काम गर्ने बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्षको हैसियतले शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको दाबी गर्दै उनले विकासको लहर ल्याएको उल्लेख गरे ।

किसानले बर्षेणी भोग्दै आएको मलखाद र सिंचाईको समस्यालाई निरुत्साहित गर्न आफ्नो निर्वाचन क्षेत्रमा मल कारखाना स्थापना र सिंचाइको भरपर्दो व्यवस्था गर्ने लक्ष्यकासाथ उम्मेदवारी दिएको बताउँदै साहले मल कारखाना र सिंचाइको उचित व्यवस्था भएसँगै हजारौं यूवाले रोजगारी पाउने विश्वास व्यक्त गरे ।

 

आफुलाई जनताले गरेको मायाकै कारण जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकास तुल्नात्मक रुपमा अन्य ठाँउको भन्दा अधिक मात्रमा गरेको चर्चा गर्दै प्रदेशसभा सदस्यका उम्मेदवार साहले अरु गफ गर्छ म काम गर्छु भन्दै एक पटक सेवा गर्ने अबसर दिन आग्रह गरे ।

स्थानीयले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको विकृति, मलखाद, सिंचाई,बाटोको समस्या, विकासीय कार्यमा भएको बेतिथि लगायतका समस्याहरु राखेका थिए ।