२०७० को दोस्रो संविधान सभा चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सिरहामा प्रतिस्पर्धा गर्नुभएका विष्णु साहले त्यसपछिका दुईटा चुनावमा टिकटका लागि प्रयास गर्नुभयो तर पाउनु भएन । जनता समाजवादी पार्टी मधेश प्रदेश समितिका सदस्य एवं सिरहा जिल्लाका सह इन्चार्ज विष्णु साह मधेश आन्दोलनदेखि मधेशी जनअधिकार फोरम हुँदै सक्रिय राजनीतिमा लाग्नु भएको छ तर समयमा पार्टीले मूल्यांकन नगरेको गुनासो उहाँको छ । समाजिक सेवामा समेत सक्रिय विष्णु साह सिरहा समाज सेवाको अध्यक्ष, चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउण्डेशनको मधेश प्रदेशको अध्यक्ष, होटेल तथा पर्यटन महासंघ नेपालको उपाध्यक्ष समेत रहनु भएको छ । प्रस्तुत छ, चुनावको समिक्षा, मधेश सरकार, संघीय सरकार, मधेशमा जसपाको उपस्थितिलगायतका विषयमा जसपाका नेता विष्णु साहसँग गरेको कुराकानीको सम्पादीत अंशः
तपाईले २०७० को दोस्रो संविधान सभा चुनावमा माओवादीका अध्यक्ष प्रचण्डसँग सिरहामा प्रतिस्पर्धा गर्नुभएको थियो । त्यो बेलाको चुनाव र अहिलेको चुनावमा के अन्तर पाउनुभयो ?
–यी दुईटै चुनावमा खासै अन्तर देखिन मैले । यद्यपी २०७० को चुनाव संविधान निर्माणका लागि संविधान सभाको चुनाव भएको थियो । र, यो २०७९ को चुनाव संविधान सभाबाट निर्माण भएको संविधानलाई संस्थागत गर्न, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चुनाव भएको हो । हुन त २०७० पछि अर्को चुनाव २०७४ मा पनि भएको थियो । २०६५ को संविधान सभा चुनाव जस्तै शक्ति समिकरण २०७४ को चुनाव भयो । २०७० को चुनाव जस्तै २०७९ को चुनाव भयो । २०६४ को पहिलो संविधान सभा चुनावमा परिवर्तनकारी शक्तिको ठूलो शक्ति संविधान सभामा आएका थिए । त्यतिबेला साँच्चै परिवर्तनको महसुस भइरहेको थियो । तर २०७० सम्म आइपुग्दा पुनः पुरानै शक्ति हावी भयो । र, माओवादीसहित तत्कालिन मधेशवादी शक्ति कमजोर भयो । त्यसैले सोचेको जस्तो संविधान निर्माण हुन सकेन । त्यसको पाठ सिक्दै परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आएपछि २०७४ मा फेरि नयाँ शक्तिको अनुभुति भइरहेको थियो ।
तर २०७९ मा त्यो शक्ति छिनभिन्न भयो । संघीयता विरोधी शक्तिलगायत पुरानै शक्तिको हालीमुहाली भयो । संसदमा राजावादी, संघीयता विरोधी शक्तिको हालीमुहाली भयो । २०४७ सालको राजनीतिक अवस्थालाई झझल्को अहिले दिइरहेको छ । २०७० मा माओवादीका अध्यक्ष प्रचण्ड अरु ठाउँबाट चुनाव जित्ने अवस्था नदेखेपछि सिरहाबाट चुनाव लड्नु भएको थियो । त्यो बेलाको जुन अवस्था थियो प्रचण्डका लािग त्यही अवस्था यसपाली पनि सृजना भयो र त्यही भएर उहाँ गोरखा गएर चुनाव लड्नुभयो । तर अहिले त्यही राजावादी र संघीयता विरोधी शक्तिको साथ लिएर प्रचण्ड सरकार बनाउनुभयो ।
अहिलेको अवस्थामा संघीयतावादी र संघीयता विरोधी शक्तिहरु अलग अलग हुने अवस्था आएको छ । यस अवस्थामा प्रचण्डजीले कस्तो भूमिका खेल्नु हुन्छ त्यो हेर्न बाँकी छ । संघीयता र गणतन्त्र जोगाउन सक्नु भयो भने मात्र राष्ट्रवादी नेता बन्न सक्नुहुन्छ । यदि सक्नु भएन भने असफल नेताको रुपमा चित्रित गरिनेछ ।
प्रचण्डलाई असफल नेताको रुपमा तपाई चित्रित गर्नुभयो । प्रचण्डसँग तपाई चुनाव लडेपछि दुईटा चुनाव भए तर ती दुईटै चुनाव लड्नु भएन किन ?
–संयोग नै त्यस्तो भयो । हुन त म २०५१ देखि नै काँग्रेसको विद्यार्थी राजनीतिमा आएको हुँ । म लगातार राजनीतिमै छु । कहिले सक्रिय र कहिले निस्कृय भएर लागि रहे । तर चुनावको राजनीतिमा मैले २०७० मा आएको हुँ । मधेशी जनअधिकार फोरमबाट संविधान सभाको चुनावमा प्रचण्डसँग प्रतिस्पार्धा गरे । त्यो चुनाव मेरो लागि निकै अनुभवि रह्यो । राष्ट्रिय रुपमा मलाई परिचित गराउने काम भयो । जनताले पनि मलाई त्यहीबेलादेखि एउटा नेताको रुपमा चिन्न थाले ।
२०७० को चुनाव म जितिनन् तर अर्को चुनाव अवश्य जित्छु भनि लागेर म त्यसको तयारीमा लागे । तीन चार वर्ष म आफ्नो क्षेत्रमा निकै मेहनत गरे । तर तत्कालिन राजपासँग चुनावी तालमेल भएको कारण सो प्रदेश र संघीय दुवै क्षेत्र राजपाको भागमा पर्यो । र, म अन्त्यमा टिकटबाट बन्चित भए । मैले टिकट नपाउन् भनेर मैरै पार्टीका नेताहरु भूमिका खेलेका थिए । त्यो कुरा पनि थाह पाएको थिए । फेरि, अगामी चुनावको तयारीमा जुटे । पार्टीबाट पनि अगामी चुनावमा टिकट दिने कन्फर्म गर्यो । म त्यसको तयारीमा लगातार चार पाँच वर्ष जनताको बीचमा रहेर काम गरे । टिकटका लागि पालिका, जिल्लालगायत सबै क्षेत्रबाट सिफारिस पनि भयो । चुनाव लड्छु भनि सबै किसिमले तयारी गरेको थिए ।
तर अन्त्यमा एमाले र जसपाबीच चुनावी गठबन्धन भयो र मैले चुनाव लड्ने सिरहा क्षेत्र नम्बर ४ (क) एमालेको भागमा पर्यो । र म फेरि टिकटबाट बन्चित भए ।
तपाईसँग मात्र किन यस्तो हुन्छ, जब प्रचण्डसँग चुनाव लड्ने अवस्था आयो भने तपाईलाई अघि सार्यो जब चुनाव जित्ने अवस्थामा तपाईले टिकट पाउने बेला भयो अनि अरु दललाई टिकट दियो । पार्टीले तपाईलाई मूल्यांकन गरेको हो कि अवमूल्यन गरेको हो ?
–साँच्चै भन्ने हो भने पार्टीले चाहेको भए अरु दलसँग बार्गेनिङ गरेर सो क्षेत्र लिन सकिन्थ्यो तर मेरो विचारमा पार्टीले त्यसमा ध्यान नदिएको जस्तो लाग्यो । अब यसले मलाई मूल्यांकन गरेको छ कि अबमूल्यन गरेको छ त्यो म भन्न सकिन्न तर मलाई टिकट नदिँदा त्यहाँको जनताले चित्त दुखाएकै हो । पार्टीले तपाईलाई किन टिकट दिएन भनि मलाई प्रश्न गरेका हुन्छन् ।
अनि मैले पार्टीले जे निर्णय गर्यो त्यो स्विकार गर्नुपर्छ भनेर टार्छु । तर पार्टीले टिकट नदिँदा मलाई दुख लागेकै छ । तर संयोग मलाई टिकट नदिएर गठबन्धनका सहयोगी दललाई टिकट दिँदा पनि दुवै पटक उनीहरु चुनाव हारे । मैले उनीहरुलाई सहयोग गरेपनि त्यहाँका जनताले उनीहरुलाई रुचाएन भने कुरा स्पष्ट भयो । जनताले अरुलाई नरुचाएका कुरा स्पष्ट दुवैपटक भयो । त्यो क्षेत्रमा म २०५१ सालदेखि काम गरेको छु । राजनीतिक दलको माध्यमले मात्र होइन, विभिन्न समाजिक संघ संस्थाको माध्यमबाट पनि आफ्नो क्षेत्रमा मैले काम गरेको हुँ ।
जसको जनाधार छ, जसको जनतामा लोकप्रियता छ त्यसलाई टिकट दिनुपर्छ । म आशा गर्छु कि अगामी चुनावमा पार्टीले पुनः त्यो गलती दोहोर्याउने छैन । म त्यो क्षेत्रका लागि टिकटको दावेदार हुँ र मैले टिकट पाउनुपर्छ भनि अहिलेदेखि भन्दै आएको छु र त्यसको तयारीमा पनि लागेको छु ।
चुनाव आउन पाँच वर्ष बाँकी छ, अहिलेदेखि तपाई टिकटको दावी प्रस्तुत गरिरहनु भएको छ, त्यो बेला तपाईले नै टिकट पाउनु हुन्छ भनि के ग्यारेण्टी छ ?
–हेर्नुस् राजनीति हो । नेपालको राजनीतिमा कुन बेला के हुन्छ त्यसको कुनै ग्यारेण्टी छैन भने मेरो टिकटको के ग्यारेण्टी हुन्छ तर आफ्नो दावी त गर्न पाइन्छ नि । भोली पार्टी नै नरहला अनि कसरी टिकट पाउँछु । भोली म नै राजनीति छाडुला अनि टिकट लिएर के गर्नु । अर्थात पाँच वर्षमा जे पनि हुनसक्छ भनि एउटा अनुमान छ तर एउटा लक्ष्य लिएर त हिड्नुपर्छ नि । यदि त्यो बेला पनि पार्टीले टिकट दिएन भने त्यो बेला केही थप निर्णय लिन्छु ।
पार्टीले टिकट दिएन भने अरु पार्टीबाट पनि चुनाव लड्नु हुन्छ होइन ?
–राजनीति गरिरहेको छु भने केही नकेही गर्छु नि त । यदि पार्टीले टिकटै दिएन भने के गर्ने तपाई नै भन्नुस् न । राजनीति मान्छे किन गर्छ चुनाव लड्नका लागि । चुनाव जितेर राज्यको नीति निर्माणको तहमा गएर जनताका लागि केही गर्ने सोच सबैको हुन्छ । यदि त्यही गर्न पाइएन भने बाध्य भएर विकल्प खोज्नुपर्छ । तर मलाई विश्वास छ कि विकल्प खोज्ने अवस्था आउँदैन ।
तपाई २०५१ देखि नै नेपालको राजनीतिमा लाग्नु भएको छ । मधेश आन्दोलनमा पनि मधेशी जनअधिकार फोरममार्फत सक्रिय रहनु भयो । त्यो अनुभवको आधारमा भन्नुस् कि यसपटको चुनावमा जसपा किन कमजोर भयो ?
–यसपटको चुनावमा जसपा कमजोर हुनुको मुख्यत तीनटा कारण मैले देखेको छु । पहिलो कारण त पार्टीभित्रको आन्तरिक द्वन्द नै हो । आन्तरिक द्वन्दका कारण क्षेत्रहरुमा पार्टी कमजोर भयो र टिकट वितरण पनि समुचित ढंगबाट भएन । आफ्नै पार्टीका कतिपय नेता आफ्नै उम्मेदवारलाई हराउने भूमिका खेले । अर्को कारण, जसपाले मधेश तथा केन्द्रमा पाँच वर्षसम्म सरकारमा रह्यो ।
सबभन्दा बढी समय मधेश प्रदेशमा रह्यो तर कतिपय मन्त्रीहरुको कारणले जनताले सरकारको अनुभूति गर्न सकेन । त्यसको गुनासो थुप्रै भयो । तर त्यसप्रति कसैले ध्यान नै दिएनन् । त्यसको असर चुनावमा देखाइ दियो । अर्को तेस्रो कारण, एमालेसँग गठबन्धन हो । सुरुमा काँग्रेस, माओवादीको गठबन्धनमा पार्टी थियो । त्यसैबाट चुनाव लड्ने तयारी पनि थियो । त्यसैको आधारमा क्षेत्रहरुमा तयारी पनि चलिरहेको थियो । तर एकासी एमालेसँग गठबन्धन गर्नपुग्यो । मधेशमा एमालेप्रति नाकारात्मक धारणा छ, त्यस अवस्थामा जसपाले गठबन्धन बनाउनु धेरैका लागि असहाय भयो । त्यसबाट चुनावमा पार्टीलाई क्षति भयो । यी तीनटै कुरालाई पार्टीले म्यानेज गरेको भए मधेशमा सबभन्दा ठूलो पार्टी जसपा हुन्थ्यो ।
अहिले फेरि पनि मधेश प्रदेश सरकारको नेतृत्व जसपाले लिएको छ, यही सरकारको कारण फेरि आउने चुनावमा प्रभाव पर्दैन भने त्यसको ग्यारेन्टी के छ ?
–हो ठिक भन्नुभयो । जसपा पुनः मधेश प्रदेश सरकारको नेतृत्वमा आएको छ । विगतको कमिकमजोरी यसपटकको सरकारको पालामा नदोहोरिने प्रण लिनुपर्छ र त्यसमा सचेत पनि रहनु पर्छ । मधेशी जनताले दोस्रो चान्स दिएको छ सायद तेस्रो चान्स दिनेछैन । यदि राम्रो काम गरेन भने तेस्रो पटक जनताले त्यसको जवाफ राम्रोसँग दिनेछ । त्यसैले सचेत हुनु जरुरी छ । जनताको हितमा काम हुनुपर्छ । जनतालाई जे अश्वासन दिएको छ त्यो पुरा गर्नुपर्छ यदि पुरा गरिएन भने पार्टी र सरकार दुवैलाई क्षति हुन्छ । अहिलेको सरकारले शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिनुपर्छ । यी तीनटै क्षेत्रलाई सुधार गर्न सकियो भने मधेश सरकार सफल भएको मानिनेछ । भ्रष्टाचार समाप्त गर्न पनि सरकारले कठोर नीति ल्याउनुपर्छ ।
जसपा नेपाल सत्ता गठबन्धनमै छ तर हालसम्म सरकारमा गएको छैन, त्यसको कारण के हुनसक्ला त ?
–पहिलो कारण त मधेशको माग नै हो । गठबन्धनमा भएपनि जसपाले उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छ र त्यसपछि सम्मानजनक स्थान दियो भने मात्र सरकारमा जान्छ । तर जसपा नेपालले उठाएको मागको बारेमा हालसम्म गठबन्धन सरकारले केही बोलेको छैन । यहाँसम्म कि वार्ता गर्न पनि मानेको छैन । यसको मतबल गठबन्धनमा छ भन्दैमा आफ्नो एजेण्डा र मुद्दालाई छाडेर सरकारमा जानुपर्छ भने होइन । जसपाका लािग सरकार ठूलो होइन, त्यसको लागि मुद्दा र एजेण्डा ठूलो हो । त्यसैले त्यसको सम्बोधन भएपछि मात्र सरकारमा जानुपर्छ ।
भनिन्छ, सरकारमा जाने नजाने कुरा उपराष्ट्रपति पदमा गएर रोकिएको छ के यो साँच्चै हो त ?
–मिडियामा आएको कुरामा कुनै सत्यता छैन । उपराष्ट्रपति मात्र होइन, हाम्रो दावी, राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सबैमा छ । तर त्यसको लागि छलफल नै हुँदैन । माओवादी र एमालेले पद बाँडफाँटका लागि कुरा नै गर्न मान्दैनन् । ती दुई दल आफैआफैमा टुग्यांएका छन् । त्यसमा हामीमध्ये कसैसँग कुनै प्रकारका सोधपुछ गरेको छैन । त्यसैले उपराष्ट्रपतिमा हाम्रो उम्मेदवारी स्वभाविक हो । गठबन्धनमै रहेको हिसाबले एमालेले सभामुख पायो, स्वतन्त्र पार्टीले उपसभामुख पायो । माओवादीले प्रधानमन्त्री पायो त्यसपछि केही पाउने पालो जसपाको छ । जसपाले उपराष्ट्रपति मागेको छ । र, त्यो पाउनुपर्छ ।
मधेशवादी दललाई संसद तथा सरकारभन्दा अलग अलग राखेको छ, मधेशी शक्तिलाई किनारा लगाएर अरु अरु दलको हालीमुहाली देखिएको छ यस्तो किन ?
–‘घर फुटे गवार लुटे’ जस्तो अवस्था भएको छ । मधेशी दलको शक्तिलाई विभाजन गरेर बीचमा खेल्ने काम गरिरहेको छ । मुख्य रुपमा अहिले तराई मधेशका चारवटा शक्ति संसदमा छन् तर ती चारवटै शक्तिलाई अलग अलग राखेर मधेशी दललाई किनारा लगाइएको छ । आज जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति एक ठाउँ भएको भए यो अवस्था आउने थिएन । यी चारै शक्ति एक ठाउँमा आयोस् । गठबन्धनका सरकार आफै सबै कुरा लिएर आफै खोज्दै आउनेछ । अलग अलग भएको कारण महत्व नदिएको हो ।
Discussion about this post