जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल भोली देखि सुरु हुन लागेको छ ।

दुई दिनसम्म चल्ने सो फिल्म फेस्टिभलको विषयमा सोमबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुलुक सङ्घीयतामा गएपछि पहिलो पटक मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल हुन लागेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रमका संयोजक रमेश रञ्जन झाले जानकारी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको सो अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल जनकपुरधामको अशा चलचित्र मन्दिरमा हुने आयोजकले जनाएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गर्ने भएकोले सो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने जानकारी कार्यक्रमका संयोजक एवं कलाकार रमेश रञ्जन झाले दिए ।

यसै गरि वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुनेछन् । यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको छ । भोली ११ बजेबाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको उद्घाटन हुने कार्यक्रम रहेको छ ।