जनकपुरधाम । पूर्वप्राथमिक शिक्षाको गुणस्तर सुधार, शिक्षकको क्षमता विकास तथा विद्यालयहरूबीच सहकार्य र एकता कायम गर्ने उद्देश्यले Association of Pre-school Educators Nepal (APEN) मधेश प्रदेशमा विस्तार भएको छ।

वि.सं. २०७४ मा स्थापना भएको APEN ले देशभरका पूर्वप्राथमिक विद्यालय, मन्टेश्वरी, किन्डरगार्टेन, ECD केन्द्र तथा शिक्षाकर्मीलाई एउटै साझा मञ्चमा जोड्दै प्रारम्भिक बालशिक्षालाई व्यवस्थित, व्यावसायिक र गुणस्तरीय बनाउने लक्ष्य राखेको छ।

मधेश प्रदेशमा संगठन विस्तारसँगै शिक्षकहरूको क्षमता विकासका लागि विभिन्न तालिम, कार्यशाला, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै, विद्यालय तथा शिक्षाकर्मीहरूले भोग्दै आएका साझा समस्याको पहिचान गरी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने APEN को योजना छ।

APEN मधेश प्रदेश संयोजक अर्थ ठाकुरले मधेशमा संगठनको विस्तार प्रारम्भिक बालशिक्षालाई थप व्यवस्थित र सशक्त बनाउने महत्वपूर्ण पहल भएको बताउनुभएको छ। उहाँले प्रदेशका सम्पूर्ण पूर्वप्राथमिक विद्यालय सञ्चालक, प्रधानाध्यापक, शिक्षक तथा शिक्षाकर्मीलाई APEN मा आबद्ध भएर शैक्षिक गुणस्तर सुधारको अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ।

APEN ले सक्षम शिक्षक, बालमैत्री शिक्षण पद्धति र विद्यालयबीच प्रभावकारी सहकार्यमार्फत मधेश प्रदेशमा प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।