जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

आज जनकपुरधाम उद्योग वाणिज्य संघको ५४ औँ साधारणसभामा बोल्दै नेता महतोले प्रधानमन्त्री ओलीले संघियतालाई धरापमा पार्न संविधानको हत्या गरेको जिकिर गरे । प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथी गरिएको गम्भीर प्रहार रहेको नेता महतोको आरोप थियो ।

उनले संविधानलाई टेकेर बनेको सर्वोच्च संस्था प्रतिनिधिसभालाई ओलीले आफ्नो कुर्सी बचाउनका लागि अकालमा हत्या गरेको बताए । प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताउँदै उनले अधिनायकवाद उन्मुख कदमप्रति जसपाको गम्भीर असहमति रहेको धारणा राखे ।

अर्को प्रसङ्गमा बोल्दै नेता महतोले प्रदेश २ को स्थायी राजधानी बन्ने पहिलो अधिकार जनकपुरधामसँग रहेको जिकिर समेत गरे । उनले भने,‘जनकपुरधाम धार्मिक तथा सांस्कृति नगरी रहेकोले राजधानी बन्ने पूर्ण सम्भावना जनकपुरधामसँग मात्र छ । त्यसैले प्रदेशसभालाई छिटो भन्दा छिटो जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी बनाउन आग्रह गर्दछु ।’

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह, सुरिता साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, पूर्व मेयर बजरंग प्रसाद साहलगायतकाहरुले समेत आ-आफ्नो धारणा राखेका थिए ।