अर्थ राज
जनकपुरधाम, चैत २२ गते (मधेश टप):
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय अध्यक्षमा पुनः राउत नै हुने पक्का भएको छ ।

पार्टीको प्रथम महाधिवेशनमा अध्यक्षका लागि एकल उम्मेदवारी परेको हुनाले पुनः राउत नै अध्यक्ष हुने पक्का भएको हो । अध्यक्ष पदमा अन्य नेताको उम्मेदवारी नपरेकाले उनी निर्विरोध पुनः अध्यक्षमा निर्वाचित हुनेछन् निर्वाचन समितिका संयोजक सञ्जयकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्ष बढीमा ७ जना राख्न पाइने पार्टीको विधान छ । उपाध्यक्ष पदमा पनि चार जनाको मात्र उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि मो। अब्दुल खान, ई. बसन्तकुमार कुशवाहा, ई. दीपककुमार साह र ई. नरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दिएका हुन् ।

त्यस्तै महासचिवमा चन्दनकुमार मिश्रको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा कोही पनि उम्मेदवारी नदिएको उनले बताए ।

त्यस्तै सचिव बढीमा सातजना राख्न पाइनेमा ई।सुरेन्द्र नारायण यादव मात्र उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य खुल्लातर्फ २३ सिटमा ४६ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै गैर-आवासीय मधेशी संघमा ४ सिटका लागि ५ जना र महिला १५ सिटमा मात्र १३ जनाले उम्मेदवारी दिएका छन् ।