अर्थ राज जनकपुरधाम बैसाख २९ (मधेश टप) : नेपालमा काठमाडौं उपत्यकापछि प्रदेश २ मा कोरोना संक्रमणको दर सबैभन्दा बढी रहेको छभने प्रदेश २ मा संक्रमित बिरामीहरुले अक्सिजन र भेन्टिलेटरसहितको शय्या अभावका कारण दिनहुँ ज्यान गुमाउँदै आइरहेका छन्। यस्तो अवस्थामा प्रदेश सरकार आफ्ना नागरिकको ज्यानको रक्षामा केन्द्रितनभई साइकल बनाउन र निर्मित मन्दिरको निरक्षणका तथा शिलान्यासतर्फ चासो देखिन्छ।

अहिले प्रदेश २ को अधिकांश अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभाव छ भने अस्पतालमा कोरोना संक्रमितहरुलाई उपचारका लागि शय्या पाउन पनि अत्यन्त कठिनाइँ नै रहेको छ। प्रदेश २ मा मांग भन्दा आधि पनि अक्सिजन आपूर्ति गर्न सकेका छैनसाथै सरकारसँग त प्रदेशमा दैनिक अक्सिजनको आवश्यकता वारे तथ्यांक पनि छैन। तर बजेट फ्रिज नहुने चिन्ता सरकारलाइ छ

अहिले प्रदेश सरकार अक्सिजन र भेन्टिलेटरका लागि सहजीकरण गर्नुपर्नेमा ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छात्राहरुलाई साइकल बाँड्नका लागि मधेश भवनको परिसर भित्र रहेको गोदाम घरमा साइकल बनाउनमै व्यस्त छ।

सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत यस वर्ष १७ हजारसम्म साइकल बाँड्ने लक्ष्य लिएको अभियानका संयोजक प्रियंका यादवले जानकारी दिइन्।

‘यस वर्ष १७ हजार साइकल बाँड्ने हाम्रो लक्ष्य थियो तर बिचमै लकडाउन भयो त्यसैले वितरण गर्न सकिएन। यद्यपि साइकल बनाउने कार्य भने द्रुत गतिमा भइरहेको छ,’ उनले भनिन्, ‘१७ हजारमध्ये ३ हजारसम्म साइकल बाँडिसकिएको छ। कोरोना महामारीको संक्रमण साम्य भएलगत्तै बाँकी साइकलहरु समेत बाँडिने छ। काम चलिरहेको छ। साइकलहरु पर्सा र जनकपुरधाममा रहेको स्टोरमा धमाधम तयार हुँदैछ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले कोरोना कालमा आएर साइकल वितरण गर्न लागेको भन्ने कुरा निराधार रहेको बताए।

उनले भने, ‘साइकल वितरण पुरानै योजना अनुसार भइरहेकाले यसलाई महामारीसँग जोडेर नहेर्न आग्रह गर्न चाहन्छु।’

उनले अहिले प्रदेश सरकारका सम्पूर्ण सदस्यहरु कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यस्त रहेको दावी समेत गरे। कुनै पनि किसिमको विकास निर्माण कार्य प्रदेश सरकारको प्राथमिकतामा नभएर नागरिकको ज्यानको रक्षा नै पहिलो प्राथमिकतामा रहेको मन्त्री यादवको भनाइ थियो।

खुल्ला सिमानाका रहेकाले प्रदेश २ कोरोना नियन्त्रण तथा रोकथामका लागि निकै नै चुनौतीपूर्ण रहेपनि कोरोना संक्रमणको चेन ब्रेक गर्नका हरसम्भव प्रयास गरिरहेको उनले बताए।

प्रदेशका मन्त्रीहरु निरीक्षण र शिलान्यासमै व्यस्त 

एकातिर कोरोना महामारीका बेला प्रदेश २ मा संक्रमितहरु स्वास्थ उपचार नपाएर ज्यान गुमाइरहेका बेला प्रदेशका मन्त्रीहरु निरीक्षण तथा शिलान्यास गर्न मा अतियाधिक व्यस्त। बुधवार सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रामनरेश राय  दलबलसहित मन्दिर निरीक्षणका लागि पुगेका छन्।

मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका हुन्। मन्दिरको निर्माण प्रदेश सरकारकै योजनामा चाँडै पूरा गरिने प्रतिबद्धता समेत मन्त्रीद्वयले व्यक्त गरेका छन्।

मन्त्रीद्वय सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न मन्दिर तथा पर्यटकीय स्थलहरुमा निरीक्षण गर्दै गरेको देखिएका थिए। सामाजिक विकास मन्त्रीका स्वकीय सचिव राजकुमारले सामाजिक सञ्जालमा दुवै मन्त्री मन्दिर निरीक्षणका लागि पुगेका बेलाको तस्बिर पोस्ट गरेका छन्।

प्रदेशका अस्पतालमा आवश्यक स्वास्थ्य संरचना, आवश्यक सामग्री र जनशक्ति अभावका कारण एकातर्फ बिरामीको ज्यान बचाउन सकिएको छैन भने अर्को तर्फ गत महिनासम्म पनि प्रदेशका मन्त्रीहरु मन्दिर र पोखरी सौन्दर्यीकरणकै शिलान्यासमा व्यस्त रहेका थिए।

यता प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले मन्त्रीहरुको मुख्य उद्देश्य कोरोना संक्रमणको अवस्था बुझ्नु नै हो तर उनीहरुले प्रदेश सरकारको योजनाको समेत निरीक्षण गरेको जानकारी दिए।