जनकपुरधाम ४ जेष्ठ (मधेश टप):  प्रदेश २ का अधिकांश अस्पतालले अक्सिजनको अभावलाई कारण देखाउँदै कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन ग्यास सिलिन्डरको अभावको कारण कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै बिरामी भर्ना लिन छाडेका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन ग्यास अभावका कारण अब कोरोना संक्रमितहरुलाई उपचार गर्न नसकिने अवस्था सिर्जना भएको बताए ।

‘कोभिड अस्पतालमा ६५ जना बिरामी रहेको र सबै संक्रमितलाई अक्सिजनसहितको उपचार गर्नु परिरहेको छ,’ उनले भने, ‘हामीसँग रहेका सबै अक्सिजन सकिन लागेका कारण थप बिरामी आएमा समस्या हुने भएकाले उपचार नै गर्न नसक्ने अवस्था आइसकेको छ ।’

डा. यादवले एक सातादेखि प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव रहेको बताए । प्रदेश सरकार र स्थानीय प्रशासनलाई पटक पटक आग्रह गर्दा पनि कसैले चासो नदेखाएको उनको भनाइ छ ।

प्रादेशिक अस्पतालमा दिनहुँ दुई सय सिलिन्डरभन्दा बढी अक्सिजन खपत भइरहेको छ । तर एक÷दुई दिनको अन्तरालमा ४०÷५० वटा सिलिन्डरमात्र आपूर्ति हुँदै आएकाले समस्या बढेको उनले बताए ।

‘कोभिड अस्पतालमा बिरामीको आवश्यकता अनुसार दैनिक एक सयभन्दा बढी सिलिन्डर खपत हुन्छ, अक्सिजन अभावका कारण एउटा सिलिन्डर पालैपालो गरी ३÷४ वटासम्म बिरामीलाई धान्नुपर्ने अवस्था आइसकेको छ,’ उनले भने ।

सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा समेत अक्सिजनको अभाव भएको छ । सुनसरीको दुहबीस्थित डिपोले अक्सिजन दिन नमान्दा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित कुमार झाले जानकारी दिए ।

जनकपुरधामस्थित चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचाररत २९ वर्षीय एक युवकको अक्सिजन अभावकै कारण सोमबार बिहान मृत्यु भएको छ ।

अस्पतालमा भएको अक्सिजन आइतबार नै सकिएपछि आईसीयूमा उपचाररत रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ स्थित बनबोहरी बस्ने फिरोज मन्सुरीको मृत्यु भएको अस्पतालका म्यानेजर रोशन कुमार यादवले जानकारी दिए ।