जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले आफ्नो कार्यकक्षमा राखिएको पृथ्वीनारायण शाहको तस्बिर हटाउनुभएको छ ।

निवर्तमान प्रदेश प्रमुख डा. राजेश झा अहिराजले कार्यभार सम्हाल्नुअघि त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीको मात्र तस्बिर थियो । झाले दाहिनेतर्फ पृथ्वीनारायण शाहको तस्बिर सजाएर राख्नुभएको थियो। तर झालाई विस्थापित गरेर प्रदेश प्रमुख बनेका मिश्रले कार्यभार सम्हाले लगत्तै उक्त तस्बिर हटाउन लगाउनुभएको हो। अहिले उहाँको कार्यकक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको मात्र तस्बिर छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारबाट नियुक्ति पाएका अहिराजलाई बर्खास्त गर्दै मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने निर्णय लिएको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मंगलबार अहिराजलाई हटाएर मिश्रलाई प्रदेश प्रमुखको शपथ गराउनुभएको थियो। तर उहाँले कार्यभार सम्हालेलगत्तै नेपाल एकीकरणका सूत्राधार मानिने पृथ्वीनारायण शाहको तस्बिर हटाईदिनुभएको छ।

निवर्तमान प्रमुख झाले उक्त तस्बिर एकताका राष्ट्रिय एकता र अग्रजको सम्मानका लागि राखेको बताउँदै आउनु भएको थियो ।