जनकपुरधाम । ‘झूलना सम्हलकर श्याम तनि धीरे धीरे,,,,,,,,,,लाड़ली किशोरी मोरी, वयसके थोरे प्यारे,,,,,,,,,,,,अति सुकुमारी सुखधाम, तनि धीरे धीरे‘‘‘‘‘‘‘‘‘‘।।

उपरोक्त लयवद्ध पंक्तिमा मिथिलानीहरुले बिस्तारै झूलन झूलाउनको लागि भगवान रामजीलाई आग्रह गरिरहेका छन । जगत जननी जानकी अति नै कोमल र सुकुमार रहेकोले जोड़ले झूलाउँदा वहाँ अप्ठयारोमा पर्ने भन्दै कम उमेरकी जानकी झुल्न सक्दैन भनेर सखीहरुले जनकपुरधामका ज्वाँई भगवान रामलाई यस्ता लयवद्ध निवेदन गरिरहेका छिन् ।

हो एतिवेला साँझ पर्दैै जनकपुरधामको रामजानकी र राधाकृष्ण मन्दिरहरुमा बेग्लै दृश्य देख्न पाइन्छ । श्रावण शुक्ल तृतियादेखि श्रावण पुर्णिमासम्म परम्परागत रुपमा जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर र कृष्ण मन्दिर लगायतकामा झुलन महोत्सव मनाइन्छ । यस्ता अनेकौं झूलापर्वसम्बन्धी गीत गाउँदै जनकपुरधाम स्थित जानकी मन्दिर लगायतमा तीज झुला मनाईदैछ ।

पौराणिका कालमा मिथिलावासीको अराध्यदेव सीताराम दैनिक रुपमा झूला झूल्ने गरेका थिए । झुलन पर्वको अवसरमा जनकपुरका मठ मन्दिरहरू सिंगारिएका छन् भने मन्दिरहरू अगाडि झुला बनाई सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने गरिन्छ । झुला पनि भनिने यो पर्व द्वापरकाल देखि नै मनाउँदै आएको जनविश्वास छ । झुलन पर्व हेर्न नेपालका साथै भारतबाट पनि श्रद्धालुहरू जनकपुरधाम आउने गर्नेछन् । यद्यपि कोरोना कहरका कारण यसवर्ष भने त्यस्तो चहल पहल छैन ।

मठ मन्दिरहरूमा भजन कीर्तनका साथमा झुला महोत्सव गरिन्छ । झुलनमहोत्सव पर्व जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठ लगायत धनुषा, महोत्तरी, सर्लाहीका साथै भारतको विहार सहितका मिथिलाञ्चल क्षेत्रको मठ मन्दिरमा १५ दिनसम्म मनाइन्छ । झूलामा सहभागी हुनका लागि काठमाडौं, भारतको मधुवनी, सीतामढ़ी , जयनगर सहितका कालाकारहरु जनकपुरधामको मठमन्दिरमा आउने गरेका छन । अयोध्याका प्रमोद वन र मिथिलाका कञ्चनवन झूलापर्वको लागि विशेष महत्व राख्दछ । जानकारहरुका अनुसार झूलामा मिथिलाका सखीहरु सहभागी हुने गरेको कुरा धर्मग्रन्थहरुमा समेत उल्लेख रहेको छ ।

मणिपर्वत पर्व विधिवत् सम्पन्न भए पश्चात् साँझ देखि स्थानीय मठ मन्दिरमा धार्मिक रीतिअनुसार झुलनोत्सव गर्ने गरिएको छ । झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भ देखि नै भएको मानिन्छ । सन्त महन्थहरु सम्बधित निकायहरु यस्ता पर्वहरुप्रति गम्भीर नभएकोमा दुःख लागेको बताउछन् । धार्मिक नगरी जनकपुरधामको धरोहरहरु यिनै पर्वहरु हुन । जनक नन्दनी सीता र अयोध्या नरेश दशरथका छोरा राम प्रणय सुत्रमा नबाधिएको भए जनकपुरको कुनै अर्थ हुने थिएन उनको जिकिर छ । यस्ता पर्वहरुको संरक्षण र सम्वद्वन गर्नुपर्ने उनी बताउछन् ।

झूलाको इतिहासको विषयमा झूलनकुञ्जका महन्थ रामप्रिय शरणका अनुसार पौराणिक कालदेखि नै भूला पर्व मनाइने परम्परा रहेको भएपनि जनकपुरमा करिब १२७ वर्ष पहिलेदेखि झूला पर्व मनाउने गरिएको छ । यहाँको मन्दिर सुन्दर–सदन जनकपुरधामका तात्कालिन महान्त स्व। सीताराम शरण ९गुप्तरामजी० ले यहाँ झूलाको शुरुवात गरेका हुन् । सो पश्चात अन्य मठमन्दिरमा झूलापर्व मनाउन थालिएको सन्तमहान्तहरुले बताउछन् । जानकी मन्दिर, राममन्दिर सहित अग्निकुण्ड स्थित सुन्दर–सदन, झुलनकुञ्ज, विहारकुण्डका युगल विनोद कुञ्ज प्रेममाईको कुट्टीमा झुलापर्व धुमधामका साथ मनाइने गरिएको छ ।

जनश्रुति अनुसार सीताको माईतीमा दाईजोका रुपमा प्राप्त मणिहरू महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृति स्वरुप झुला उत्सवको प्रारम्भमा रंगभूमिमा पनि मणिपर्वत मनाउने परम्परा रहेको छ । झुलन पर्वको भोलिपल्ट पूर्णिमाका दिन रक्षाबन्धन हुने गर्दछ । यद्यपि जनकपुरधामको सुन्दर–सदनमा अरु ठाउँ भन्दा तीन दिन बढी झूलापर्व मनाइने परम्परा रहेको छ ।