काठमाडौं । बलिउडमा अभिनेता शाहरुख खानलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । अधिकांश फिल्ममा रोमान्टिक ड्रामा गरेकाले उनलाई सो ट्याग दिइएको हो ।

पछिल्लो केही वर्षयता बलिउडमा सफलता पाउन नसकेका शाहरुखले आफ्नै दममा आफ्नो स्टारडम बनाएकोमा कुनै सन्देह छैन । पछिल्लो फिल्म ‘जिरो’ पछि उनी पर्दामा देखिएका छैनन् ।

लगातार फिल्म फ्लप हुन थालेपछि उनले केही समय विश्राम लिएका छन् । पछिल्लो समय यशराज फिल्म्सको ‘पठान’ फिल्मको छायांकनमा व्यस्त शाहरुख आउँदो वर्ष पर्दामा आउने सम्भावना छ । यद्यपि कोरोना भाइरसका कारण सिर्जित अवस्थाले अहिले यकिन गर्न सकिन्न । उनले आजको अवस्थासम्म आइपुग्न धेरै मेहनत र संघर्ष गरेका छन् । बलिउडमा कुनै सम्पर्क नभएका शाहरुख विश्वकै धनी अभिनेताको सूचीमा समेत अटाइसकेका छन् ।

शाहरुखको नाम अब्दुल रहमान हो । यो नाम उनलाई उनकी हजुरआमाले दिएकी हुन् । तर, उनका बाबुले छोरीको नाम लालारुख राखेपछि छोराको नाम शाहरुख राखेका हुन् । शाहरुखलाई हजुरआमाले दिएको नाम भने कतै रजिस्ट«र भएन । उनले बाल्यकालको केही समय मामाघरमा हजुरआमासँग बिताएका थिए । त्यसैले उनलाई यो नाम दिइएको थियो ।

शाहरुखलाई बाल्यकालमा स्पोर्ट्स एकदमै मन पर्थ्यो । उनी आर्मी स्कुलमा भर्ना पनि भएका थिए । तर, उनको आमाले झन्डै एक महिनापछि शाहरुखलाई फिर्ता बोलाइन् । त्यसपछि उनी घरमै रहेर पढ्न थाले ।

एनएसडीमा बाल्यकाल
शाहरुख खानका बाबु इन्डियन फ्रिडम फाइटरमध्येका एक थिए । उनले थुप्रै काम गरे, तर कतै टिकेनन् । उनी एकपछि अर्को काम परिवर्तन गर्दै अगाडि बढे । यसैक्रममा उनी नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा क्यान्टिन चलाउँथे । बाल्यकालमा शाहरुख सेन्ट कोलम्बस स्कुलमा पढ्थे । उनकी बहिनी मोडर्न स्कुलमा पढ्थिन् । उनको स्कुल १२ बजेको आसपासमा छुट्थ्यो, तर बहिनीको ४ बजे । त्यसैले शाहरुख त्यो समयमा एनएसडी जान्थे, जहाँ उनको पिताले क्यान्टिन चलाउँथे । त्यसैक्रममा उनले रोहिणी हतनगढी, राजेश सुवेक, सुरेखा सिकरी, राज बब्बर, रघुवीर यादवलगायतका दिग्गज कलाकारसँग नजिक हुने अवसर पाए । बच्चा भएकाले उनलाई सबैले माया गर्थे ।

आफ्नो प्राक्टिसमा राख्थे र प्ले पनि देखाउँथे । त्यहीँबाट शाहरुखमा अभिनयको भोक सुरु भयो । ‘मैले बाल्यकाल लगभग उहाँहरुसँग बिताएँ । सायद त्यहीँबाट अभिनयले मभित्र स्थान पायो किनकि मैले त्यो समयको हिट प्ले सबै हेरेको थिएँ भने दिग्गज कलाकारसँग निकै नजिक थिएँ,’ शाहरुखले भने । उनका बाबुले सन् १९७४ बाट क्यान्टिन चलाउन छाडे ।

आमाबाबुको देहान्त
शाहरुखले बाल्यकालदेखि नै संघर्ष गरे । एनएसडीमा हुर्किए पनि उनको कलाकारिताले फिल्मसम्म आउन केही समय लाग्यो । यसबीचमा उनले आफ्नो आमाबाबुलाई गुमाए । सन् १९८१ मा शाहरुखको बाबुको देहान्त भयो । त्यसबेला शाहरुख जम्मा १५ वर्षका थिए । उनको बाबुलाई क्यान्सर भएको थियो । ‘लगभग आठ महिना उपचाररत थिए र उनलाई ठिक भयो भनेर अस्पतालबाट घर ल्याएका थियौं । घर आइसकेपछि उनले आइसक्रिम मागे र खाए । हामीलाई झन् लाग्यो उनी अब ठिक भए, तर त्यो रात उनको अन्तिम रात रहेछ,’ शाहरुखले भने ।

बाबुले आइसक्रिम खाएको देखेपछि उनी सुत्न गए । बिहानीपख कसैले उनलाई उठाएर बाबु अस्पतालमा रहेको जानकारी दियो । उनी अस्पताल पुग्दा बाबुले संसार छाडिसकेका थिए । उनले अनुहार पनि हेर्न सकेनन्, खुट्टा देखे र त्यसलाई छोए जुन चिसो भइसकेको थियो ।

त्यसको १० वर्षपछि उनको आमाको पनि मृत्यु भयो । उनको आमालाई खुट्टामा समस्या भएपछि अस्पताल लागिएको थियो । त्यसबेला अस्पतालमा डायबिटिज रहेको भनियो, तर त्यसको डेढ महिनाको अन्तरालमा शाहरुखकी आमाले संसार छाडिन् । आइसीयुमा रहेको आमाको स्वास्थ्य बिग्रिँदै गएपछि शाहरुख हस्पिटल तल आएर भगवानसँग प्रार्थना गरिरहेका थिए । उनलाई कसैले भनेको थियो,’ तिमी प्रार्थना गर, तिम्रो आमालाई शक्ति मिल्नेछ ।’ तत्कालीन समयमा आइसीयुमा प्रवेश नपाइने भएकाले शाहरुख हस्पिटलकै पार्किङमा प्रार्थना गरिरहेका थिए ।

‘म भगवानसँग आमाको जिन्दगी मागिरहेको थिएँ, किनकि प्रार्थना गरुन्जेल आमाको स्वस्थ्य बिग्रिँदैन भन्ने मलाई लाग्थ्यो । बहिनी बोलाउन आइन्, तर म गइनँ ।डाक्टरले तिमी आइसीयुमा आऊ भनेपछि आमालाई भेट्न गए, उनको त्यो अन्तिम समय थियो,’ शाहरुखले भने । त्यो उमेरमा उनलाई लाग्थ्यो कि मान्छे तब संसार छाड्छ, जब ऊ ढुक्क हुन्छ । उसलाई लाग्छ उसको परिवार ठिक छ, अब म नहुँदा पनि यहाँ चल्छ भन्ने लागेपछि मान्छेले संसार छाड्छ । त्यसैले उनले आमालाई भने,’ यदि तपाइँले छाडेर जानुभयो भने म बहिनीहरु ख्याल राख्दिनँ, स्पोर्ट्स खेल्दिनँ र पढ्दिनँ ।’ तर, यी सब कुरा गर्दागर्दै उनकी आमाले संसार छाडिन् । ‘सायद उहाँलाई विश्वास थियो कि म मेरो परिवारको ख्याल राख्छु र आफ्नो काम गर्नलायक भएको छु । त्यसैले आमाले त्यही समय संसार छाड्न रोज्नुभयो,’ शाहरुखले भने ।

टिभी हुँदै फिल्ममा
शाहरुखलाई पर्दामा चिनाउने श्रेय जान्छ ‘फौजी’ नामक टिभी सिरियललाई । तर, उनले पहिलो काम ब्यारी जोनको प्लेमा गरेका थिए । त्यहाँ ८० जना युवती र १० जना युवा चाहिएको थियो । स्पोर्ट्स गरिरहेका शाहरुखलाई चोट लागेपछि उनी साँझको समयमा खाली भए । उनले अडिसन दिए र सेलेक्ट भए । प्लेमा उनले ‘प्रिन्सिपल डान्सर’ को रोल पाए । प्लेमा उनलाई एउटा डायलग दिइएको थियो, ‘आइ ह्याभ लेटर फर यु एनी ।’ त्यसपछि उनले करण कपूरको सिरियल ‘फौजी’ मा काम गरे ।

‘थियटरको प्लेपछि करण सरको सिरियलमा काम गर्ने अवसर मिल्यो । उनको छोराले गर्ने भनिएको रोल नगरेपछि मलाई अवसर मिलेको हो,’ शाहरुखले पुराना दिन सम्झिए । फौजी टिभी सिरियल हिट भएसँगै शाहरुख चिनिन थाले, तर उनलाई अभिनयको सौख थिएन । उनी एड फिल्म बनाउन चाहन्थे । किनकि त्यो समयमा उनलाई ह्यारी बबेजा र हेमा मालिनीको फोन आएको थियो । तर, उनी काम गर्न गएका थिएनन् । किनकि उनी दिल्लीमा थिए र काम मुम्बईमा थियो । त्यसको ३–४ महिनापछि उनको आमाको देहान्त भयो । त्यसपछि उनले आफ्नो एक्लोपनलाई कामबाट भुलाउन थाले ।

आमा नरहेपछि उनी ‘वाग्ले कि दुनिया’ नामक सिरियलमा काम गर्न मुम्बई पुगेका थिए । एक वर्षका लागि मुम्बई पुगेका उनीसँग फर्किने पैसा थिएन । उनी सिरियल कम्पनीकै अफिसमा बस्थे । एकदिन अचानक उनलाई भेट्न विवेक वास्वानी आए । उनले जीपी सिप्पीको फिल्म छ काम गर भने । ‘त्यो बेला मैले म टिभीमै ठिक छु भनेको थिएँ । तर, भोलिपल्ट म बसेकै अफिसमा आएर विवेकजीले मलाई सिप्पी सरको अफिसमा लगे,’ शाहरुखले भने । त्यो दिन उनले पाँवटा फिल्म साइन गरेका थिए । उनले हेमा मालिनीलाई भेटे, राकेश रोशनको ‘किङ अंकल’, हेमाकै सिफारिसमा ‘दिवाना’ सहित एकैदिन पाँच फिल्ममा अनुबन्धित भएका थिए ।