काठमाडौँ । केपी शर्मा ओली एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः दोहोरिने निश्चित भएको छ ।

नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् ।

एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले ओलीको कार्यशैलीप्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । अर्का प्रभावशाली नेता वामदेव गौतमले उपाध्यक्ष पदबाट राजीनामा गरिसकेका छन् ।

यस्तो अवस्थामा ओलीलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा कोही छैनन् । ओलीनिकट नेताहरूले दाबी गरेअनुसार सर्वसम्मत वा चुनाव जे भए पनि ओलीको विकल्प एमालेमा पक्कै छैन । तर, ओलीसँग प्रतिस्पर्धा गर्ने उद्घोष उपाध्यक्ष भीम रावलले गरेका छन् । पूर्व नेपाल–खनाल समूहका नेता रावलले गृह जिल्ला अछामबाट अध्यक्षमा प्रतिपस्र्धा गर्ने उद्घोष गरे पनि तयारी भने गरेका छैनन् ।