चितवन । नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा मानव सागर उर्लिएको छ ।

चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले जनाएको छ । एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको दाबी गरिन् ।

उनले महाधिवेशनमा सहभागीको संख्या अत्यधिक भएर आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको जानकारी दिइन् । देशभरका ७७ जिल्ला, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वटै वडाबाट आएका लाखौं जनता, स्वेदशी तथा विदेशी पाहुनाबीच एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो ।

उद्घाटन अगाडि आयोजित -यालीमा एमाले र अध्यक्ष ओलीको पक्षमा नारासमेत लगाइएको थियो । उद्घाटनका क्रममा राष्ट्रिय जनसांस्कृतिक मञ्चका कलाकारले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा एमालेको सरकारका पालामा भएका महत्वपूर्ण उपलब्धि समेटेर तयार गरिएको डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो ।