चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पूर्व लडाकूहरू नेकपा एमालेमा प्रवेश गर्न लागेको बताएका छन् ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका अध्यक्ष ओलीले महाधिवेशनलगत्तै पूर्व लडाकूहरू सामुहिक रुपमा प्रवेश गर्न लागेको बताएका हुन् ।

उनले माओवादी पार्टीका लागि जीवन नै होम्ने तर लक्ष्य प्राप्तिपछि आफ्ना नातागोतालाई मेयर, मन्त्री बनाउने पार्टीमा अब उनीहरू बसिनराख्ने बताए । महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले जनाएको छ ।

महाधिवेशनमा सहभागीको संख्या अत्यधिक भएर आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । देशभरका ७७ जिल्ला, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वटै वडाबाट आएका लाखौं जनता, स्वेदशी तथा विदेशी पाहुनाबीच एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेका थिए ।