काठमाडौँ । औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोभिड–१९ विरुद्धको खोप परीक्षण तत्कालका लागि स्थगित गरेको छ ।
परीक्षणमा सहभागी एक जना बिरामी भएपछि उक्त निर्णय गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । ‘एक जना सहभागी बिरामी भएपछि हामीले अस्थायी रूपमा कोभिड–१९ विरुद्धको खोपको सबै क्लिनिकल ट्रायल रोकेका छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले करिब ६० हजार व्यक्तिमा उक्त खोप परीक्षण गरिने जनाएको थियो । करिब तीन सातायता कम्पनीले तेस्रो चरणको परीक्षणमा सहभागी हुने व्यक्तिहरूको सूची बनाइरहेको थियो । परीक्षणमा अमेरिका, अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिकालगायत मुलुकका व्यक्तिहरू सहभागी हुने जनाइएको थियो । परीक्षणमा सहभागी बिरामी भएको विषयमा एउटा स्वतन्त्र कमिटीले समीक्षा गरिरहेको जोन्सन एन्ड जोन्सनको भनाइ छ । कम्पनीका चिकित्सकले पनि त्यसको समीक्षा गरिरहेको जनाइएको छ । यद्यपि, ती सहभागीमा कस्तो प्रकृतिको समस्या देखिएको भन्नेबारे केही खुलाइएको छैन ।
‘हामीले परीक्षणमा सहभागी व्यक्तिको गोपनीयताको सम्मान गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनी बिरामी हुनुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’
यसअघि बेलायती कम्पनी अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रूपमा विकास गरिरहेको खोप परीक्षण पनि सहभागी बिरामी भएपछि रोकिएको थियो ।
Discussion about this post