काठमाडौं । न्यूनीकरण र लाभको विस्तार नारासहित विश्व बायोइथिक्स दिवस नेपालमा पनि मनाइएको छ । विश्वभरि नै सञ्जाल रहेको युनेस्को–बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएको हो ।
सन् २०१६ देखि अक्टोबर १९ लाई विश्व बायोइथिक्स दिवसका रुपमा मनाइँदै आइएको छ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियमको अध्यापन, तालीम र अनुसन्धानका लागि जोड दिँदै आएको छ । कोभिड–१९ महामारीमा ‘हानी र लाभ’ शीर्षकमा नेपाल एकाइले सोमबार कार्यशालाको आयोजना गरेको थियो । नेपाल एकाइका प्रमुख प्रा डा धनरत्न शाक्यको सभापतित्वमा सम्पन्न कार्यशालामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा डा गुरुप्रसाद खनालले वर्तमान परिस्थितिमा स्वास्थ्य र चिकित्सा शिक्षामा आचारसंहिताको शिक्षा विद्यार्थी कालदेखि नै अझ आवश्यक भएको बताए ।
प्रतिष्ठानका डिन प्रा डा शिवेन्द्र झाले बायोइथिक्सले चिकित्सालगायत मानव समाजमा सिर्जित दुविधा निवारण गर्न सघाउने बताए । कार्यक्रममा नेपाल, भारतलगायत विभिन्न १८ मेडिकल कलेजबाट १४० विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक प्रमुख प्रा.डा शाक्यले यस्ता कार्यक्रमबाट बायोइथिक्सबारे छलफल र अध्ययन विस्तार हुँदै जाने बताए। उनले यस वर्षको नाराले सबैलाई कोभिड महामारीका बेला पनि वास्तविक हित लाभ गर्न र हानी नोक्सानी न्यूनीकरण, आवश्यक विमर्श र अभ्यास अवलम्बन गर्न घच्घच्याएको धारणा राखेका थिए ।
Discussion about this post