गोरखा २८, कात्तिक (मधेश टप):- गोरखाको धार्चे गाउँपालिका–५ स्थित सिङ्लामा सम्पन्न निःशुल्क दन्त शिविरमा १५० बिरामीले सेवा लिएका छन् । हिमालय यात्रा नामक संस्थाद्वारा आयोजित सो तीनदिने स्वास्थ्य शिविरमा दन्तरोग सम्बन्धी बिरामीको निःशुल्क उपचार गरिएको थियो । शिविरमा उपचारका लागि आएकाहरुलाई स्वास्थ्य उपचारसँगै दाँत निकाल्ने लगायतका सेवा प्रदान गरिएको संस्थाका रामबहादुर गुरुङले जानकारी दिनुभयो ।
उपचारका लागि आएका मध्ये धेरैजसोमा दाँत दुख्ने समस्या रहेको पाइएको उहाँको भनाई छ । उहाँका भन्नुभयो, “एकसय जना भन्दा बढीको बिग्रिएका दाँत झिक्ने काम भयो ।” अधिकांश उपचारका लागि आएकाहरुमा नियमित दाँत नमाझ्ने समस्या रहेको दाँत नै झिकेर फ्याक्नु पर्ने अवस्था आएको चिकित्सको भनाई छ । लायन्स क्लव ३२५ बी १ का सिनियर एम्बेस्डर अफ गभर्नर अजित खड्काको संयोजकत्वमा भएको दन्त शिविरमा दन्त चिकित्सक शंकर श्रेष्ठ, निरोज क्षेत्री, मनोज हमाल लगायतले सेवा दिनुभएको थियो । विकट गाउँमै दन्त शिविरमा दाँतको निःशुल्क उपचार पाएपछि सिङ्लाबासी समेत खुशी भएका छन् । सो अवसरमा शिविरमा आएकाहरुलाई करिब ६ वटा ब्रस तथा ६ सय वटा मञ्जन समेत वितरण गरिएको आयोजकले जनाएका छन् ।
टोलीमा सहभागी लायन्स तथा लियो क्लवका प्रतिनिधिहरुले सो क्रममा स्थानीयबासीको आँखाको समस्याको बारेमा पनि अध्ययन गरेको र आगामी दिनमा आँखाको रोगको शिविर पनि राख्न सकिने जनाइएको छ । खाद्यान्न वितरण गोरखाको बिकट गाउँ धार्चे गाउँपालिका– ५, सिङ्लामा ७५ क्विन्टल खाद्यान्न वितरण गरिएको छ । तिहारका बेला पर्व मनाउन समस्या परेकाहरुका लागि हिमाली साथी फाउण्डेसनको समन्वय तथा सहयोगमा चामल, नुन तेल लगायतका खाद्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँमा रहेका बृद्धबृद्धा, असक्त, अपांगताका परिवारलाई लक्षित गरि सहयोग उपलब्ध गराइएको उहाँले बताउनुभयो । फाउण्डेसनले सिङ्लामा ३० किलो ग्राम दरका २५० बोरा चामल वितरण गरेको गरेको थियो ।
फ्रान्सका नागरिकको आर्थिक सहयोगमा स्थानीयलाई खाद्यान्न बितरण गरिएको र फाउण्डेसनले यस अघि पनि सिङ्लाका विपन्न परिवारलाई पटक पटक खाद्यान्न उपलब्ध गराउदै आएको जनाइएको छ । चाडवाडका बेला खाद्यान्न्न सहयोग पाएपछि त्यहाँ बिपन्न, असाहाय, बृद्धबृद्धा समेत खुशी भएका छन् ।
Discussion about this post