जनकपुरधाम : तीन दिनसम्म तनावग्रस्त रहेको महोत्तरीको बर्दिबास बजार खुलेको छ । मंगलबार स्थानीय ६ वर्षीय बालिका गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको घटनाले तनावग्रस्त बनेको बर्दिबास बजार तीन दिनपछि खलेको हो ।
प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपानेको मृत्युपछि उत्पन्न विवाद समाधानका लागि गठिन वार्ता समितिलाई माग सम्बोधनका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ ।
नागरिक स्तरमा चिरञ्जिवी हमालको संयोजकत्वमा गठित तीन सदस्यीय वार्ता समितिलाई सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पीडित परिवारको माग सम्बोधन गर्न गृहमन्त्रालयलाई सिफारिस गर्ने सहमति भएकाे हाे ।
मृतक बालिकालाई शहीद घोषणा, दाेषाीलाई कडा कारवाही, घटनाको निष्पक्ष छानबिन, घाइतेको उपचारको व्यवस्था र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग स्थानीयबासीको रहेको छ । ती मागहरू गृहमन्त्री थापाले वार्ता समितिको छलफलमा सम्बोधन हुने सहमति भएको संयोजक हमालले बताए ।
बुधवार साँझ नै सहमति भए पनि प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय संजय भनिने बुद्धिराज न्यौपानेलाई पनि शहीद घोषणा गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग सम्बोधन गर्नुपर्ने अडान प्रदर्शनकारीको हुँदा बिहीबार पनि बजार खुलेको थिएन ।
बिहीबार वार्ता समितिसँग प्रजिअ कटुकवालको अतिरिक्त सहमति पश्चात शुक्रबारदेखि अवस्था समान्य बनेपछि बजार खुलेको हो । बजार खुले पनि सुरक्षाको दृष्टिकोणले व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । आक्रोशित स्थानीयले आफ्ना माग अघि सार्दै मंगलबारदेखि नै निषेधाज्ञा समेत तोड्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गर्दै आएका थिए ।
यता मृतक बालिकाको शव परीक्षण मंगलबार प्रादेशिक अस्पतालमा सम्पन्न भइसके पनि पीडित परिवारले शव बुझेका छैनन् ।
मृतक बालिकाका बुबा सहिद आलमले दोषीलाई कडा कारबाही नभएसम्म शव नबुझ्ने बताएका छन् । प्रदर्शनकै क्रममा प्रहरीको गोली लागेर बर्दिबासका संजय न्यौपानेको मृत्यु भएपछि बर्दिबासका स्थानीय थप आक्रोशित भएका छन् ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी कागजात उपलब्ध गराएपछि पोस्टमार्टम भएका शवलाई बुझाउने प्रावधान रहेको छ । ती सबै प्रक्रिया पूरा भए पनि पीडित परिवारले शव नबुझ्दा अहिलेसम्म बालिकाको शव शवगृहमै राखिएको प्रादेशिक अस्पतालका चिकित्सक डा. जामुन सिंहले बताए ।
गएको आइतबार साँझ बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी छारी गुलाबसाको शव सोमबार मध्यराति आरोपितको सहयोगमा बस्ती नजिकै बोरामा राखेर फालिएको अवस्थामा फेला परेको थियो ।
घटनापश्चात प्रहरी नियन्त्रणमा रहेका २५ वर्षीय युवक अरुण साहले प्रहरी समक्ष आरोप स्वीकार गरिसकेका छन् ।
गोली लागेर उपचारको क्रममा मंगलबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएका संजय भनिने बुद्धिराज न्यौपानको शवको पनि पोस्टमार्टम गरी बिहीबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ ।
यसअघि बिहीबार बर्दिबास नगरपालिकाले मृतक बालिका गुलाब र प्रहरीको गोली लागेर मृत्यु भएका संजयको परिवारलाई साढे दुई लाख रुपैयाँ राहत र परिवारबाट एक जनालाई रोजगारी दिने घोषणा गरिसकेको छ ।
Discussion about this post