काठमाडौं । अमेरिकाका चार राज्य जर्जिया, मिचिगन, पेन्सिलभेनिया र विस्कन्सिनको नतिजालाई अवैध ठहर गर्न माग गर्दै यसै साता टेक्सास राज्यले गरेको उजूरीलाई सर्वोच्चले अस्विकार गरिदिएको छ । सर्वोच्चले टेक्सास राज्यसँग यस विषयलाई मुद्दा बनाउने वैध अधिकार नरहेको जनाएको छ ।
यससँगै ब्याटलग्राउन्ड स्टेटको नतिजा उल्ट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास असफल भएको छ । अमेरिकाका सबै ५० राज्यले आफ्नो मत प्रमाणिकरण गरिसकेका छन् र जो बाइडेन भावी राष्ट्रपति निर्वाचित हुने तय भएको छ ।
निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्चमा गरिएको यस उजूरीलाई १८ राज्यका न्यायधिवक्ता र १ सय ६ जना रिपब्लिकन संसद् सदस्यहरुले समर्थन गरेका थिए ।
यसअघि ट्रम्पले निरन्तर मतदानमा धाँधली भएको आरोप लगाउँदै आएका थिए । उनले निर्वाचनको परिणाम छिनोफानो सर्वोच्च अदालतबाट हुने संकेत गरेका थिए ।
ट्रम्पले निरन्तर रुपमा अवैध भोटका कारण आफु दोस्रोपटक राष्ट्रपति निर्वाचित हुन नसकेको दाबी गर्दै आएका छन् ।
Discussion about this post