रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिकसत्रबाट कार्यान्वयनमा आएको हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गङ्गाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए । तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालय छन् ।
पहिलो चरणमा कक्षा १ देखि ५ सम्म १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ ।
पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक सङ्घसंस्थालगायतका विषय समेटिएको छ ।
Discussion about this post