जनकपुरधाम : जनकपुरधामको एक डिपार्टमेन्टल स्टोर र एक रेष्टुरेन्टमा भीषण आगलागी भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा भीषण आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  जनकपुरधाम उप–महानगरपालिका कर्यालयको सय मिटर दुरीमा रहेको स्थानमा आगलागी भएपनि उप–महानगरले बारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुको कथन छ । हाल आगो नियन्त्रणमा धनुषा तथा महोत्तरीबाट आएका चार बारुण यन्त्र र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणको प्रयास जारी छ ।  

आगलागी नियन्त्रणका लागि धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर एयरपोर्ट र महोत्तरीको जलेश्वर नगरपालिकाको बारुण यन्त्र खटिएको छ ।

यसैगरी आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बेश क्याम्पबाट सयौंको संख्यामा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । 

जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा बारुण यन्त्र रहेपनि महिनौंदेखि दुवै बिग्रिएर थन्क्याइएको छ । आगलागीबाट क्षतिको विस्तृत विवरण आउन बाँकी छ। 
आगलागी हुँदा समयमै बारुणयन्त्र ल्याउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध नाराबाजी समेत गरेका थिए ।