जनकपुरधाम : प्रदेश २ सरकारको महत्वकांक्षी स्वास्थ्य योजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुदघाटन भएको छ । प्रदेश २ सरकारले प्रदेशका विरामीलाई अन्यत्र नजानु पर्ने वातावरण बनाउने उद्देश्यका साथ प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आज मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेको छ ।
जनकपुरधामको प्रादेशिक अस्पताल प्राङ्गणभित्रै मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन् । प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रतिष्ठान कार्यालयको उद्घाटनसँगै प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो फडको मार्ने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश २ स्वास्थ्यको सूचकांकमा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने आकांक्षा अब पूरा हुने समेत बताए ।
मुख्यमन्त्री राउतले विस्तारै अव जनकपुरधाममै पनि एमबीबीएस, एमडी लगायतको पढाइ हुने भएपछि मधेशका युवा वाहिर जानुपर्ने आवयश्कता नरहने बताएका छन् । मुख्यमन्त्री राउतले आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण चिकित्सकहरुका लागि नरहेकामा त्यसको मुख्य कारण अहिले सम्मको सरकारको गलत नीति रहेको आरोप लगाए । प्रतिष्ठानको स्थापनासँगै चिकित्सकहरुका लागि आफ्नै गाउँठाउँमा सेवा प्रदान गर्ने वातावरणको निर्माण गर्ने विश्वास उनको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशवासीका लागि ठूलो सपना पूरा भएको दिन रहेको बताए ।
उनले यस प्रतिष्ठानको स्थापानाले प्रदेशका अस्पतालहरुमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुनु लगायतको समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । मन्त्री साहले यस प्रतिष्ठानको स्थापनाले ठूलो रोजगारीको अवसर समेत सृजना हुने बताए । प्रतिष्ठानका उपकुलपती नियुक्त भएका डा. रामकेवल साहले सवैले आवयश्कता महशुस गरि यस प्रतिष्ठान सञ्चालनमा सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, प्रादेशिक प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव र चान्सलर डा. अंकुर साह अस्पतालका मेसु डा. प्रमोद यादव, वरिष्ठ पत्रकार रामभरोष कापडी, समाजसेवी प्रकाश चन्द्र साह सहितको उपस्थिती थियो ।
यस अघि माघ १८ गते हाडजोर्नी तथा नशा रोज्ञ विशेषज्ञ वरिष्ठ सर्जन डा. रामकेवल साहलाई प्रतिष्ठानको उपकुलपती, महाराजगञ्ज शिक्षण अस्पतालमा सेवारत डा. विनोद यादवलाई रजिष्टार र नेपाल मेडिकल काउन्सिलमा सदस्य भइसकेका युवा डा. अंकुर साहलाई प्रतिष्ठानको शिक्षाध्यक्षको नियुक्ती प्रदान गरेको थियो । प्रतिष्ठानमा नियुक्ती पाएका सवै पदाधिकारीहरुको आजै सपथ ग्रहण समेत भएको छ । उपकुलपती डा. साहलाई मुख्यमन्त्री तथा राजिष्टार डा. यादव एवं चान्सलर डा. साहलाई समाजिक विकास मन्त्रीले सपथ ग्रहण गराएका छन् । उनीहरु तिनैजनाले आजै पदभार ग्रहण समेत गरेका छन् ।
Discussion about this post