काठमाडौंँ, ३ जेठ (मधेश टप): देवदर्शन मिडिया ग्रुपले कोरोना सङ्क्रमणको महामारीमा निरन्तर क्रियाशील सञ्चारकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । चन्द्रागिरि नगरपालिकामा रही विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई मास्क र स्यानिटाइजर वितरण गरिएको ग्रुपका प्रबन्ध निर्देशक एवम् सञ्चारकर्मी रोशन दानीले जानकारी दिनुभयो ।

गुर्जुधारास्थित अन्तराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा आज ग्रुपका सञ्चालन एवम् पत्रकार महासङ्घ एसोसिएट प्रदेशका उपाध्यक्ष श्रीहरि थापा, ग्रुपका अध्यक्ष रामनारायण घिमिरे र भेहिकहलका सञ्चालकद्वय माधवप्रसाद अधिकारी र पूर्णप्रसाद श्रेष्ठले ती सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष थापाले राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकास गर्न सञ्चारकर्मी लाग्नुपर्छ भन्नुभयो ।

अध्यक्ष घिमिरेले आवश्यकतानुसार सञ्चारकर्मीको जोखिम न्यूनीकरणका लागि थप स्वास्थ्य सामग्री निरन्तर उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “विपद्मा मानवीय सेवा पु¥याउन सबैलाई आआफ्नो क्षेत्रबाट क्रियाशील हुन आग्रह गर्दछु । ”सो एकेडेमीले गर्भवती, सुत्केरी , मिर्गौला, मुटुलगायत बिरामीलाई मानवीय सेवा पु¥याउन छ यातायातको साधन सञ्चालनमा ल्याएको छ । साथै गत वर्ष लकडाउनका समयमा विपन्नलाई खाद्य पदार्थ वितरण गरिएको थियो ।

सो अवसरमा सञ्चारकर्मी दानीले चन्द्रागिरिमा क्रियाशील सञ्चारकर्मीले कोरोना महामारीमा निरन्तर सूचना तथा समाचार सम्प्रेषण गरिरहेको बताउनुभयो ।