एजेन्सी: कोरोना महामारीको बेला देखिएको ब्ल्याक फंगस अब भारतको केन्द्र सरकारका लागि ठूलो चिन्ता बनेको छ । केन्द्र सरकारले सबै राज्यलाई पत्र लेखेर ब्ल्याक फंगसका लागि अलर्ट गरेको छ । साथै, सबै राज्य सरकारलाई यसलाई महामारी एक्ट अनुरुप नोटेबल डिजीज घोषित गर्न भनेको छ । अर्थात्, राज्यलाई ब्ल्याक फंगसको केस, मृत्यु, उपचार र औषधीको हिसाब राख्नुपर्नेछ ।

राजस्थान, हरियाणा, तेलगाना र तमिलनाडुले यो ब्ल्याक फंगसलाई पहिले नै महामारी घोषित गरिसकेका छन् । दिल्लीमा पनि यसका बिरामीका लागि भिन्न सेन्टर्स बनाइँदै छ ।

स्वास्थ्य मन्त्रालयको जोइन्ट सेक्रेटरी लव अग्रवालले राज्यसँग भनेका छन्, ‘ब्ल्याक फंगस संक्रमणका केस अत्यधिक बढिरहेको छ र यसका कारण कोभिड बिरामीको मृत्युको संख्या पनि बढिरहेको छ । हाम्रो अगाडि यो नयाँ चुनौती हो ।’

थुप्रै राज्यका कोरोना बिरामीमा म्यूकर माइकोसिस नामको फंगल इन्फेक्सन देखिएको छ । यो विशेषगरी ती बिरामीमा देखिएको छ जसलाई स्टेरोइड थेरेपी दिइएको छ र जसको सुगर स्तर अनियन्त्रित छ ।