काठमाण्डौ जेठ १४ (मधेश टप): तीन देशमा नियमित उडान खोल्ने  सरकारले निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि  चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको उहाँले जानकारी दिनुभयो । तीनै देशबाट सातामा एउटा मात्र उडान हुने छ ।

एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ । आन्तरिक उडान खोल्नेबारे भने अहिले कुनै निर्णय भएको छैन । अहिले पनि सङ्क्रमण नघटेकाले अहिले नै आन्तरिक उडान खोल्नेबारे नसोचिएको मन्त्री ढकालले बताउनुभयो ।

अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

मन्त्री ढकालका अनुसार, दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट लिएर आएकाहरूलाई १० दिन होम क्वरेण्टीनमा बस्ने सर्तमा आफ्नो घर जान दिइने छ ।

कसैले एउटा मात्र खोप लगाएको छ र पीसीआर परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वरेण्टीन बस्नुपर्नेछ । तीन दिन पछि परीक्षण गर्दा कोरोना नेगेटिभ आएमा यात्रु सम्बन्धित गन्तव्यमा जान पाउनेछन् । होटल क्वरेण्टीन खर्च भने आफैंले  बेहोर्नुपर्नेछ ।

एउटा पनि खोप नलगाएको तर पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका यात्रुले भने १० दिनसम्म होटेल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्नेछ । त्यसपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा घर जान पाइनेछ ।

वैशाख २३ गते मध्यरात देखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको थियो ।