जनकपुरधाम (मधेश टप डेस्क): सिरहामा आईसीयू बेड नपाएर ९ जेठमा मिर्चैया नगरपालिका– १ का ७८ वर्षीय पूर्णमान श्रेष्ठलाई उपचारका लागि जनकपुर ल्याइयो ।

सास फेर्न अप्ठयारो भएपछि परिवार तथा आफन्तले उनलाई एम्बुलेन्स ड्राइभरको सल्लाहमा जनकपुरस्थित रामजानकी अस्पतालमा उपचार गर्न ल्याएका थिए । लगातार एक साता ब्लडप्रेसरको औषधि खान छोडेपछि उनलाई कमजोरी महसुस हुनुका साथै सास फेर्न पनि समस्या भएको थियो । अस्पताल पुग्दा डाक्टरले उनलाई तत्काल आईसीयूमा भर्ना गर्नुपर्ने बताए । तर आईसीयू बेडको शुल्क सुनेर श्रेष्ठका परिवार चकित भए ।

अस्पतालले जनरल आईसीयू बेडको दिनको ४५ हजार र भेन्टिलेटरसहितको आईसीयूमा उपचारबापत दिनको ५५ हजार रुपैयाँ तिर्नुपर्ने पूर्णमानका आफन्तलाई सुनायो । जति हारगुहार गरे पनि त्योभन्दा कम शुल्कमा उपचारै नगर्ने अस्पतालले अड्डी कस्यो । ‘कोरोनाको समयमा तपाईँले बेड पाउनु नै सबैभन्दा ठूलो कुरा हो । ‘जे गरे पनि त्योभन्दा कम शुल्कमा उपचार हुँदैन, सक्नुहुन्न भने अर्को हस्पिटल जानुस् भन्यो अस्पतालले,’ बिरामी पूर्णमानका ज्वाइँ विक्रम हाँडीले सुनाए ।

प्रादेशिक अस्पतालमा आईसीयू बेड नै खाली नरहेको र विराटनगर वा धरान जाँदा धेरै समय खर्च हुने र जोखिमसमेत बढी हुनेहुँदा श्रेष्ठका परिवार त्यहाँ उपचार गराउन बाध्य भए ।

‘अस्पतालले हाम्रो मजबुरीको फाइदा उठाएर लुट्यो, रगतै चुस्यो । तर, ज्यान जोगाउन हामीसँग अर्को कुनै विकल्प पनि त थिएन,’ हाँडीले गुनासो पोखे । अस्पताले भने शुल्क त्यति मात्र लिएन, उपचारमा खटिने डाक्टर तथा अन्य स्वास्थ्यकर्मीका लागि पीपीई सेटसमेत उनैबाट किन्न लगाए ।

अस्पतालमा कोरोना संक्रमित र संक्रमण नभएका सबै गम्भीर बिरामीलाई एउटै वार्डमा राखेर उपचार गरिरहेको बिरामीका आफन्तहरू बताउँछन् । उपचारमा भइरहेको लापर्बाहीकै कारण दुई दिनमै अस्पतालबाट बिरामीलाई लिएर हिँडेको हाँडाले बताए । रामजानकी अस्पतालमा दुई दिन उपचार गराउँदा औषधि, स्वास्थ्य सामग्रीबाहेक उनले ९६ हजार रुपैयाँ तिरे । तर, अस्पतालले भने उपचार खर्च तिरेको बिल दिएन । उनले थपे, ‘उपचार राम्रो नभएर मैले बिरामीलाई लिएर हिँडे । पैसा तिरे पनि बिलचाहिँ दिइएन । बिलकै लागि के लफडा गरिराख्नु भनेर मैले जबर्जस्ती गरिनँ,’ उनले थपे ।

आईसीयूमा उपचाररत बिरामीलाई समेत अस्पतालले मेडिकेसनबाहेक केही नगरेको कोरोना संक्रमण पुष्टि भई दाइलाई त्यहीँ उपचार गराइरहेका गौशाला नगरपालिका– ८, भण्टाबारीका नवल महतोले गुनासो पोखे । ‘सेन्सलेस प्यासेन्टलाई आईसीयूमा भर्ना गरिन्छ । तर, त्यस्ता बिरामीलाई पनि आफन्तले नै समयसमयमा खाना खुवाउनुपर्ने, मास्क लगाइदिनुपर्ने र सबै हेरचाह गर्नुपरेको छ,’ उनले भने । नवल १० जेठदेखि ३२ वषीर्य दाइलाई आईसीयूमा उपचार गराइरहेका छन् ।