एजेन्सी । अमेरिकाले अफगानिस्तान युद्धमा २० वर्षभित्र २२ खर्ब ६० अर्ब डलर खर्च गरेको तथ्यांक छ ।

ब्राउन विश्वविद्यालयले अमेरिकाले यति ठूलो धनराशी खर्च गरेको हिसाब निकालेको हो । यो रकम नेपाली रुपैयाँ २६६६ खर्ब हुनआउँछ ।

यति खर्चले अफगानिस्तान पूर्वाधार विकासमा सँसारकै उत्कृष्टमध्येको बन्नसक्थ्यो । तर, बम गोली र बारुदका अलावा त्यसबाट उत्पन्न परिणाममा गरिएको खर्चले अमेरिकालाई लज्जास्पद रुपमा अफगानिस्तान छाड्न वाध्य बनायो ।

सन् २००१ देखि अमेरिकाले १० खर्ब डलर रक्षा मन्त्रालयको बाह्य आकस्मिक सैन्य कारबाहीको बजेट हो । ब्राउन विश्वविद्यालयले निकालेकोको हिसाबमा ५ खर्ब ३० अर्ब डलर युद्धमा खर्चिएको छ ।२ खर्ब ९६ अर्ब डलर भेट्रानको स्वास्थ्योपचार र शारीरिक क्षति भोगेकाको हेरचाहको बजेट छ । ४ खर्ब ४३ अर्ब डलर अतिरिक्त रक्षा बजेट उल्लेख छ । युद्ध बजेट ९ खर्ब ३३ अर्ब डलर उल्लेख छ ।

यति ठूलो खर्च गर्दा पनि अमेरिकाले अफगानिस्तान छाड्नुपरेको छ । काबुल विमानस्थलमा अमेरिकी वायुसेनाको विमानमा मानिसहरु झुन्डिएको र रोक्न खोजेको दृश्य देखियो । अमेरिकाले लज्जास्पद रुपमा अफगानिस्तान छाड्नुपरेको विश्लेषणहरु हुन थालेका छन् । अमेरिकी राष्ट्रपति जोय वाइडेनले समेत आफूले यति छिट्टै तालिवानले अफगानिस्तान कब्जा गर्लान् भनी अनुमान नगरेको बताएका छन् । तर, उनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने कदमको बचाऊ गरे ।

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान युद्धमा अमेरिकाले ठूलो धनराशी खर्च गरिरहेको भन्दै सैनिक फिर्तालाई तिव्रता दिएका थिए ।अफगानिस्तानमा अमेरिकाले किन यति ठूलो रकम खर्च गर्यो रु अमेरिका जस्तो महाशक्ति देशले ठूलो धनराशी हावामा उडाएको भने होइन ।

सामरिक महत्वको अफगानिस्तान दक्षिण एशियालाई पश्चिम एशियासँग जोड्ने स्थान हो । पाकिस्तान, इरान, चीन, उज्वेकस्तान, ताजिकिस्तान, तुर्केमिनिस्तान, ताजिकिस्तान जस्ता देशहरुसँग अफगानिस्तानको सीमा जोडिएको छ । पाकिस्तान शासित काश्मिर समेत अफगानिस्तानसँग जोडिएको छ ।

अफगानिस्तानको भूराजनीतिक महत्वका कारण पनि अमेरिका त्यहाँ पुगेको हो । उसले अफगानिस्तानबाट इरानलाई अप्ठ्यारोमा पार्न सक्यो । पाकिस्तानमा प्रभाव बनाउन सक्यो । चीनलाई समेत चुनौती दिन सक्यो । रुसको प्रभाव रहेका पूर्वी सोभियत गणराज्यहरुमा पनि प्रभाव बनाउन सक्यो ।

तत्कालीन सोभियत संघको प्रभाव रहेको अफगानिस्तानमा तालिवानको उदयसँगै प्रभाव गुमायो । सोभियत सेना अफगानिस्तानबाट फिर्ता भए । त्यहाँ अमेरिकाले चासो देखायो । पाकिस्तानको माध्यमले अमेरिकाले प्रभाव बनायो । तालिवानको शासन आयो ।

सन् २००१ को सेम्टेम्बर ११ मा विश्व व्यापार संगठनको जुम्ल्याहा भवनमा आतंकवादी हमला भयो । अल कायदाले जिम्मेवारी लिएको उक्त हमलापछि अमेरिकाले आक्रामक रणनीति बनायो । अल कायदा नेता ओसामा विन लादेनको खोजी गर्न थाल्यो । अल कायदालाई अफगानिस्तानमा शासन गरिरहेका तालिवानले साथ दिइरहे । त्यसपछि अमेरिका झन् आक्रामक बन्यो ।

तालिवानलाई अफगानिस्तानबाट सत्ताच्युत गर्न अमेरिकी आक्रमण र भूमिका नै कारण बन्यो । लादेनको खोजीका क्रममा अमेरिकाले ठूलो धनराशी खर्चियो । अलकायदाविरुद्धको लडाईंमा पाकिस्तानलाई अरबौं डलर सहयोग गर्दै आएको अमेरिकाले पाकिस्तानभित्रै लादेन सुरक्षित रुपमा राखिएको सूचना पायो । अवोटावादमा सैन्य हेलिकोप्टरमा कमाण्डो लगेर लादेनलाई मारिदियो । यो घटनाले पाकिस्तानको अमेरिकासँगको सम्बन्ध चिसियो ।

लादेन मारिएपछि पनि अफगानिस्तानमा अमेरिकाले युद्धमा ठूलो धनराशी खर्च गरिरह्यो । अमेरिकाले त्यहाँ प्रभाव गुमाउँदै गयो । अन्य शक्तिको चुनौतीले पनि अमेरिका अप्ठ्यारोमा पर्यो ।

अमेरिकाभित्र अफगानिस्तान युद्धको औचित्यमाथि प्रश्न उठ्न थाल्यो । यति ठूलो धनराशीको खर्च र सैनिकहरु मारिने र घाइते हुने घटनाले दबाब बन्यो । त्यसपछि अमेरिकाले सैनिक फिर्ता गर्ने निर्णय गर्यो । अमेरिकी सेना फिर्ता भएलगत्तै तालिवान प्रभावशाली बने । उनीहरुले बाह्य शक्तिको समेत सहयोग पाए ।

अमेरिकाले २० वर्षमा जति रकम खर्च गर्यो त्यसले उसलाई सामरिक महत्वको अफगानिस्तानबाट आफ्नो कटु सम्बन्ध रहेका इरानलगायत देशहरुलाई दबाबमा राख्न सक्यो । रुस र चीनमाथि पनि दबाब बनाइराख्न सक्यो । तर, समय क्रममा त्यो प्रभाव गुम्न पुग्यो ।