वीरगञ्ज । हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेमा बारा कोल्हवी नगरपालिका–११ बस्ने २२ वर्षीय बिहारीलाल चौधरी, बाराकै कोल्हवी– ११ बस्ने २१ वर्षीय सुरज चौधरी, २८ वर्षीये राम प्रवेश राम, कोल्हवी–२ बस्ने ५७ वर्षीया देवकी पन्त, रौतहट विजयपुर नगरपालिका– १ बस्ने ३४ वर्षीय गान्धी दास कोल्हवी(१ बस्ने ३९ वर्षीय विरेन्द्र प्रसाद चौधरी, १९ वर्षीय रोहण बहादुर अधिकरी र मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल बस्ने ३५ वर्षीये इन्द्रबहादुर कार्की प्रहरीका जनाएको छ ।

यसैगरी प्रहरीका अनुसार बसमा चालक, सहचालक समेत गरी २८ जना यात्रु सवार थिए । उनका अनुसार काठमाडौंबाट रौतहटको बंकुलतर्फ आउँदै गरेको ना ६ ख ४६४१ नम्बरको बस ब्रेक फेल भएको थियो । ब्रेक फेल भएर बस अनियन्त्रित हुँदा हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बस सडकमै पल्टिन पुगेको थियो । बीच सडकमा बस पल्टिन पुग्दा केही समय सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।