सप्तरी । दुई देशका परिचयपत्र फेला परेपछि एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका—२ का प्रमोदकुमार मण्डल रहेको प्रहरीले जनाएको हो ।

नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नम्बर ६६७३ छ । जन्म मिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र नम्बर ०६७४५८७४ छ ।

उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख छ । दुवै परिचयपत्रमा उमेर करिब एक वर्ष फरक देखिन्छ । रासस