काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए। रणनीतिक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो ।

विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड ९१२ किलोमिटर०, नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड (४३ किलोमिटर) र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड (४० किलोमिटर)का रूपमा छुट्याइएको छ । तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । विस्तारका लागि यस राजमार्ग खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भई स्वीकृतसमेत भइसकेका छन् ।

उनले सो राजमार्ग विस्तारका लागि बोलपत्र आह्वान गरिएकोमा आवेदन दिएका कम्पनीहरूको प्रिक्वालिफिकेसन छनोट प्रक्रियासमेत पूरा भइसकेको जानकारी दिए। कम्पनीहरूले प्राविधिक प्रस्तावसहित आवेदन दिएका थिए । उनले भने, “प्रिक्वालिफिकेसन’को क्रममा प्राविधिक प्रस्तावमा समेत छनोट भएका कम्पनीसँग मागिएको आर्थिक प्रस्तावको अहिले मूल्याङ्कन कार्य भइरहेको छ ।” आर्थिक मूल्याङ्कनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी काम सुरु गरिने उनले स्पष्ट पारे ।

यो सडक एसियाली राजमार्ग मापदण्डअनुसार सात मिटर ‘क्यारिज–वे’ र एकदेखि दुई दशमलव पाँच मिटरसम्म ‘सोल्जर’सहित विस्तार गर्न लागिएको हो ।
मुलुकको करिब ६५ जिल्लाका मानिसको काठमाडौँ आवतजावत गर्ने मूूलमार्ग यही नै हो । पोखरा–काठमाडौँ आवतजावत गर्ने सवारीसाधनसमेत यसै राजमार्ग भएर आवतजावत गर्ने भएकाले यस खण्डमा सवारीसाधनको चाप बढी हुने गर्दछ ।

आयोजना प्रमुख पोखरेलले भने, “पहिलो र दोस्रो खण्डको विस्तारका लागि क्रमशः ३१ र ३२ वटा निर्माण कम्पनीले आवेदन दिएकोमा उनीहरूको ‘प्रिक्वालिफिकेसन’ छनोट भई अहिले आर्थिक मूल्याङ्कन भइरहेको छ । ” उनले पहिलो खण्डको विस्तारका लागि दुई वर्ष र दोस्रोे र तेस्रो खण्डका लागि तीन÷तीन वर्ष समयावधि निर्धारण गरिएको जानकारीसमेत दिए। विस्तार कार्य सम्पन्न भएको पाँच वर्षसम्म राजमार्गको मर्मतसम्भार सम्बन्धित निर्माण कम्पनीले गर्नेछ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा यो राजमार्ग विस्तार भइरहेको छ । यसका लागि नेपाल सरकार र विश्व बैङ्कसँग सन् २०२० मा सम्झौता भएको थियो । आर्थिक प्रस्तावमा सफल भएको कम्पनी छनोट गरेर विकास साझेदार विश्व बैङ्कमा स्वीकृतिका लागि पठाइने उाले जानकारी दिए । करिब १६ अर्ब रुपियाँको लागत विस्तार कार्य गर्न लागिएको हो ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले भौगोलिक विकटताका राजमार्गको यस खण्डको विस्तारमा एकरूपता नहुने स्पष्ट पार्दै विस्तारपछि पनि यो खण्ड चारदेखि छ लेनसम्मको हुने बताए । उनले भने, “सम्भव भएको ठाउँमा छ लेन र अन्य ठाउँमा चार लेनको मात्र हुनेछ । ” सडक त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गादेखि नौबिसेसम्म १२ दशमलव सात किलोमिटर र पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन करिब ८३ किलोमिटर रहेको छ ।गोरखापत्र दैनिकबाट