रौतहट । गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा रौतहटको कटहरियामा एकजनाको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् ।

आज कटहरीया नगरपालिका वडा नं. ५ बहादुरपुर टोल रहेको मोटर ग्यारेजमा टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु हुनुको साथै एकजना घाइते भएका हुन् ।

मृत्यु हुनेमा सोही स्थानका समसुल मियाँको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । ग्यारेज सञ्चालक रहेका मियाँको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले ट्यांकीमा हावा भर्ने क्रममा क्षमता भन्दा बढी हावा भरिएपछि विष्फोट भएको हुन सक्ने बताए । जैसी यादव विस्फोटमा परी घाइते भएका छन् । ट्या‌की विष्फोट हुँदा फलामको टुक्रा उछिट्टिएर यादवको दाहिने हातमा लागेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।