चितवन । माछा उत्पादनमा चितवन आत्मनिर्भर बनेको छ ।

माछा उत्पादनमा संलग्न किसानहरूको संस्था नेपाल मत्स्य व्यवसायी सङ्घले माछा उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेको हो ।

जिल्लाको मागभन्दा धेरै उत्पादन भएको हुँदा हामीले चितवन माछा उत्पादनमा आत्मनिर्भर छ भन्ने घोषणा गरिएको हो । सङ्घका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार जिल्लामा वर्षमा चार हजार ३८ टन माछा उत्पादन हुने गरेको छ ।

यसमध्ये चितवनमा २६ सय टन माछा खपत हुन्छ । अरु अन्य जिल्ला पठाइन्छ । यस वर्ष माछाको उत्पादन बढेर ६ हजार ६ सय ५३ मेट्रिक टन पुग्ने अनुमान सङ्घको छ । चितवनमा उत्पादन भएको माछा जिल्लाको माग धानेर ठूलो परिमाणमा देशका प्रमुख सहरमा पुगिरहेकोले जिल्लालाई माछामा आत्मनिर्भर घोषणा गरिएको अध्यक्ष सुवेदीले बताएका छन् ।

सुवेदीकाअनुसार चितवनमा मात्रै दैनिक एक मेट्रिक टन माछा भारतबाट आउने गरेको छ । लामो समयसम्म ताजा देखाउन फर्मलिन नामको औषधि राखेर भारतीय माछा नेपाली बजार आइपुग्ने गरेको उनले बताएका छन् । चितवनले जिल्लाको मागभन्दा धेरै माछा उत्पादन गरेको र विभिन्न जिल्लाको माग धानिरहेको भन्दै सरकारी निकायको पनि सहयोग मिले वाग्मती प्रदेशलाई नै माछामा आत्मनिर्भर बन्न चितवनले भूमिका खेल्ने अध्यक्ष सुवेदीले बताए।