झापा । विगत २ महिनाको अन्तरमा करिब २ करोड रुपैयाँ बराबरको अवैध समान बरामद भएको छ।

प्रदेश १ स्थित सशस्त्र प्रहरी बलका अनुसार प्रदेश १ मा विगत २ महिनाको अन्तरमा विभिन्न जिल्लाबाट नेपालबाट भारत र भारतबाट नेपालतर्फ ओसारपोसार भएका अवैध समान १ करोड ९८ लाख ३८ हजार रुपैयाको चिनी, कपडा, सूर्ति तथा अन्य किराना सामग्री बरामद भएका हुन्।

सशस्त्र प्रहरी बल प्रदेशका प्रमुख डिआइजी कमल गिरीका अनुसार विगत २ महिनाभित्र इलामबाट २६ लाख ६२ हजार ४ सय १०, झापाबाट ७७ लाख ४४ हजार ७ सय ५१, मोरङबाट ३४ लाख ८६ हजार ९ सय ८९ र सुनसरीबाट १३ लाख २१ हजार ५६ रूपैयाँ बराबरको सामग्री बरामद गरिएको छ।

बरामद भएका सामग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउन गरिएको उनले बताए। असोज पहिलो साताबाट प्रदेशको सुरक्षाको जिम्मेवारीवहन गरेका सशस्त्रका डिआइजी गिरीले राम्रो काम गर्नेलाई प्रोत्सहान गरिने र गलत गर्नेलाई कारवाही गरिने जनाएका छन्।