काठमाडौँ । तेलको मूल्य घट्ने माहोल बनाउन अमेरिकासहितका देशहरुले नयाँ रणनीति अघि सारेका छन् ।

विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएपछि बढी खपत गर्ने देशहरुले नयाँ रणनीति अघि सारेका हुन् ।

मूल्य आकाशिन नदिन पेट्रोलियम पद्धार्थ बढी खपत गर्ने देशहरु एकजुट भई संचित कच्चा तेल प्रयोगमा ल्याउन लागेको जनाइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले रणनीतिक पेट्रोलियम संचितबाट झिक्ने घोषणा गरेका छन् ।

चीन, भारत, जापान र दक्षिण कोरियाले पनि संचितबाट झिकेर प्रयोगमा ल्याउने भएका हुन् । भारतले ८० करोड लिटर कच्चा तेल संचितीबाट झिक्ने भएको छ । यसले पेट्रोलियम पद्धार्थको बजारमा तरंग आएको छ । तेल उत्पादक देशहरुलाई उत्पादन बढाउन दबाब दिने उद्देश्यले अमेरिकासहितका देशहरुले संचितबाट चलाउन खोजेका हुन् । उत्पादन बढाएमा कच्चा तेलको मूल्यमा गिरावट आउनेछ । बढी खपत गर्ने देशहरुले संचितबाट चलाउन लागेपछि मूल्य घट्ने माहोल सृजना हुनसक्छ ।

यसअघि सन् २०२० मा रुस र साउदी अरेबियाबीच उत्पादन बढाउने प्रतिष्पर्धाले कच्चा तेलको मूल्य ह्वात्तै घटेको थियो । यता विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएपछि भारतले रिजर्भ गरेको झण्डै ८० करोड लिटर झिक्ने भएको छ । आकस्मिक अवस्थाका लागि संचित गरिएको पेट्रोलियम पद्धार्थ झिकेर मूल्य आकाशिने क्रमलाई रोक्न खोजेको बुझिएको छ । इन्डियन एक्सप्रेसले ५० लाख ब्यारल कच्चा तेल झिक्न लागेको उल्लेख गरेको छ । जुन ८० करोड लिटर जति हो । भारतले ३ करोड ८० लाख ब्यारल कच्चा तेल संचित गरेको छ ।