सप्तरी । सडक दुर्घटनामा परी सप्तरीमा ५ जनाको मृत्यु छ भने दुई दर्जन घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीमा सडक दुर्घटनामा परी मङ्सिर १ देखि ४ गतेसम्ममा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको हो।

बोदेबर्साईन नगरपालिका, खडक नगरपालिका, कञ्चनरुप नगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुले ज्यान गुमाएका हुन् । खडक नगरपालिका–६ मा नम्बर नखुलेको ट्याक्टर दुर्घटना हुँदा स्थानीय अनारदेवी पासमानको मृत्यु भएको थियो । साथै श्याम ठाकुर, किसुनलाल ठाकुर, रविन्द्र ठाकुर र अर्जुन चौधरीलगायत सात जना घाइते भएका थिए ।

त्यस्तै कञ्चनरुपको वेरियरमा ना ५ ख ४६९२ नम्बरको बसले बा ४ ख ५०७९ नम्बरको हायसलाई ठोक्किँदा दुई जनाको मृत्यु र एक दर्जन बढी घाइते भएका थिए । त्यस्तै बोदेवर्साईन सडकखणडमा भएको ट्याक्टर दुर्घटनामा परी एक महिलाको मृत्यु र १४ जना घाइते भएका थिए भने खडक नगरपालिकामा चार गते भएको मोटरसाइकल दुर्घटनामा परी एक २३ वर्षीय युवकको मृत्यु भएको थियो ।