झापा । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबा झापा भद्रपुर नगरपालिका ९ निवासी ६० वर्षीय रामबहादुर बुर्जा मगरको मृत्यु भएको हो ।

मगरको हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका वडा नं. १४ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले बताएका छन् । शुक्रबार मेचीनगर नगरपालिका १४ स्थित शनिबारे भन्ने स्थानमा चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जङ्गली हात्तीले आक्रमण गरेको र घटनास्थलमा नै मृत्यु भएको समेत प्रहरीले जनाएको छ ।

भारतीय जङ्गली हात्ती नेपाल प्रवेश गरेर स्थानीय जंगलहरुमा रहँदै आएका बताइन्छ । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाएर आवश्यक अनुसन्धान शुरु गरिएको समेत जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्रत्येक वर्ष धान र मकै पाक्ने समयमा भारतबाट नेपालतर्फ हात्तीहरु छिरेर जनधनको क्षति पुर्याउँदै आएका छन् ।

झापाका मेचीनगर, दमकलगायतका स्थानीय तहहरुमा हात्तीहरु देखिन थालेका छन् । झापामा हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न प्रयास भए पनि जनधनको क्षति हुने कार्य भने रोकिएको छैन ।