मोरङ । कृषि सामग्री कम्पनीले मागेजति डीएपी मल नदिँदा प्रदेश १ का किसानहरु सीमावर्ती भारतीय बजारमा उपलब्ध हुने कमसल मल ल्याएर प्रयोग गर्न बाध्य बनेका छन् ।

मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका किसान नीरबहादुर पराजुलीले एक बिघा खेतमा तोरी छर्न दुई बोरा डीएपी मल खोजी गरेको दुई साता भयो । आसपासका सहकारी संस्था धाउँदा उनले मुश्किलले २५ केजी पाए । ‘मलको आश गर्दागर्दै तोरी छर्ने समय नै बित्न लाग्यो,’ पराजुलीले भने, ‘बल्ल बल्ल पाएको २५ केजी मलले पाँच कठ्ठामा तोरी छरेँ । बाँकी १५ कठ्ठामा छर्न पाइएन ।’

होक्लाबारीकै गजेन्द्र भट्टराईले पनि डीएपी मल अभावमा दुई बिघा खेतमा तोरी छर्न नपाएको गुनासो गरे । ‘कृषि सामग्री कम्पनीले दिएन, सीमावर्ती बजारमा पाइने कमसल डीएपी ल्याएर खेती गर्नुको अर्थ नै छैन ।’ कृषि सामग्री कम्पनीले मागेजति डीएपी मल नदिएको गुनासो सम्बन्धित सहकारी संस्थाहरूको छ ।

‘एक लटमा मुश्किलले ५० बोरा दिन्छ,’ कम्पनीबाट डीएपी लगेर किसानलाई विक्री गर्ने सहकारी संस्था होक्लाबारीका प्रतिनिधि रवीन्द्र तिवारीले भने, ‘एक लटमा दुईसय बोराको माग हुन्छ । तर सामग्रीले एक चौथाइ परिमाण मात्र उपलब्ध गराएपछि किसानलाई बढीमा २५ केजीमात्र उपलब्ध गराउने गरेका छौं ।