वीरगञ्ज । प्रदेश २ को वीरगञ्ज–पथलैया व्यापारिक मार्ग अन्र्तगत परवानीपुर बजार विद्यार्थीहरुले गरेको चक्का जाममा प्रहरीले १३ राउण्ड अश्रुग्यास हानेको छ ।

अंग्रेजी र विज्ञान विषयको शिक्षकको माग गर्दै सोमबार विद्यार्थीहरुले बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्काजाम गर्नुको साथै टायर बालेर प्रदर्शन गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित रहेको नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीको भिडलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास हानेको छ । तीन दिनअघि विद्यार्थीले लिपनीविर्ता स्थित वडा कार्यालयम समेत प्रदर्शन गरेका थिए । प्रदर्शन रोक्न गएको प्रहरीलाई विद्यार्थीले ढुंगा प्रहार गरेका थिए ।

विद्यार्थीको भिड नियन्त्रणमा लिने क्रममा प्रदर्शनमा सहभागी केही विद्यार्थी घाइते समेत भएका छन् । विद्यार्थीहरुको प्रदर्शनको क्रममा कक्षा १० मा अध्ययनरत्त रहेका लक्षमिना पटेल, सोनु पटेल, अखिलेश मण्डल, प्रेमराज मण्डल, सुवोध पटेल, राहुल देवान लगायत घाईते भएको प्रदर्शनमा सहभागी विद्यार्थीले बताएका छन् ।उनीहरुको नजिकैको स्वास्थ्य चौकीमा उपचार गरिएको छ । त्यस्तै विद्यार्थीले गरेको ढुंगा प्रहारबाट प्रहरी तर्फ ४ जना घाईते हुनुको साथै दुईवटा गाडीको सीसा फुटेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि १३ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको बताए । उनले विद्यार्थीहरुको प्रदर्शन रहेकोले लाठी हान्ने नभएपछि भिडलाई तितर वितर गर्न अश्रुग्यास हानेको बताए । बाल विकासदेखि कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा ८ सय विद्यार्थी अध्ययनरत रहेपनि विद्यालयमा ४ शिक्षिका र ११ शिक्षक छन् ।